माघीमा अवसरमा सार्वजनिक बिदा



सुर्खेत : कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

“माघ १ गते बुधबार कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय बिदा हुनेछन्,” प्रवक्ता खड्काले भने, “सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनिक बिदा पाउने छन् ।” प्रदेशवासी सबैको सहजताका लागि आज सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको उनले बताए ।

मन्त्रिपरिषद् सो बैठकले भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति, साउन १ गतेका दिन साउने सङ्क्रान्ति र देउडा पर्व तथा भोट ल्होसार र बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्