हिमालपारि द्रुत गतिको नेट सञ्चालन तयारी



म्याग्दी : नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा द्रुत गतिको अप्टिकल फाइबर नेट सञ्चालनको तयारी गरेको छ ।

म्याग्दीको बेनीदेखि जोमसोम हुँदै मुक्तिनाथसम्म द्रुत गतिको अप्टिकल फाइबर नेट सञ्चालन गर्ने तयारी सुरु भएको धौलागिरि क्षेत्रको मुख्य कार्यालय नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

शर्माका अनुसार जाडोका कारण उपल्लो मुस्ताङका बासिन्दा गाउँ छोडेर बेसीमा झरेका र एक सातादेखि अत्यधिक चिसो बढेकोले यति बेला भने अप्टिकल फाइबर विस्तारको काम रोकिएको  छ । आगामी आर्थिक वर्षदेखि फाइबर नेट सञ्चालन गर्ने तयारीका साथ वायरिङलगायतका प्राविधिक काम सम्पन्न भइसकेको उनले बताए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका घमी र चराङमा टु जी रेडियो लिंक मोबाइल सेवा विस्तार हुने भएको छ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा विस्तार भएको यो सेवा लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विस्तार गर्न लागिएको हो ।

सञ्चार सम्पर्क प्रभावकारी नभएको उपल्लो मुस्ताङमा रेडियो लिंक विस्तारपछि यहाँका ११ वटै गाउँमा सञ्चार सम्पर्कको पहुँच स्थापित हुने नेपाल दूरसञ्चार जोमसोमका कार्यालयका प्रतिनिधि महेन्द्र गुरुङले जानकारी दिए ।

यसअघि स्याटलाइट प्रविधिको माध्यमबाट नेपाल टेलिकम जोमसोमले तीन वर्षअघि सञ्चारसेवा सञ्चालनमा ल्याएको हो । तर यस प्रविधिले बेलाबेलामा ब्याट्रीमा समस्या आउने, फोन तातिने, टावर नियमित नहुने र विद्युत् हाफ लाइन हुनेजस्ता समस्याले सञ्चार सम्पर्क सहज हुन सकेको थिएन । स्याङ्बोचे र चराङका केही क्षेत्रबाहेक अन्य गाउँमा फोन टावरमा समस्या आउँदा यहाँका स्थानीय तथा पर्यटकले सेवा प्राप्त गर्न सकेका थिएनन् ।

नेपाल टेलिकमले रेडियो लिंक सञ्चालनमा ल्याउँदै गर्दा गाउँपालिकाकाका सबै गाउँमा सञ्चार सम्पर्क फराकिलो हुने नेपाल टेलिकम मुस्ताङका गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्