बालविवाह रोक्न पर्साका धर्मगुरुहरु भए एकजुट



वीरगन्ज : बालविवाह रोक्न पर्साका विभिन्न धर्मगुरु तथा अगुवाहरु एकजुट भएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको ‘बालविवाह नियन्त्रण तथा रोकथाम’ विषयक कार्यक्रममा विभिन्न धर्मका धर्मगुरुहरुले ऐक्यबद्धता जायर गरेका हुन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा हिन्दु, मुस्लिम, सिख र क्रिश्चियन धर्मका धर्म गुरु र अगुवाहरुले आ—आफनो धर्म र समुदायमा बालविवाह रोक्ने सामुहिक प्रतिबद्धता जनाएका थिए ।

उनीहरुले कुनै पनि धर्ममा बालविवाहलाई मान्यता नदिएको भन्दै बालविवाह कानुनी मात्र नभई सामाजिक अपराध भएकोले यस्ता कुप्रथालाई समाजबाट अन्त्य नै गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा हिन्दु धर्मका तर्फबाट नेपाल ज्योतिष परिषद्का केन्द्रिय उपाध्यक्ष पण्डित पुरुषोत्तम दुबेले बालविवाह सामाजिक अपराध पनि भएकाले यस्तो कुप्रथाको विरुद्ध जिल्लाका सबै हिन्दुधर्मसंग सम्बद्ध संघसंस्थाहरु एक हुने बताए ।

कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना अली असगर मदिनी, सिख धर्मका धर्मगुरु अमरजित सिंह र ख्रिष्टियन समाज पर्साका अध्यक्ष नारायण आचार्य लगायतले बालविवाहको विरुद्धमा आवाज उठाएका थिए । उनीहरुले कुनै पनि धर्मले बालविवाहको समर्थन नगरेको भन्दै यसका विरुद्ध कदम चाल्न सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्