देउवाका बडीगार्डलाई गृहमन्त्री बादलको सलामी !



काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डिआईजी) एक पदका निम्ति बढुवा हुन प्रहरीभित्र दौडधूप चलेको छ । बढुवा हुनका निम्ति १८ जना बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)हरु विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । यी मध्ये धेरै दौडधूप गर्ने एसएसपी हुन – गणेश ऐर ।

लामो समय नेपाली कांग्रेस सत्तामा हुँदा कांग्रेसी कार्यकर्ताकै शैलीमा काम गर्दै पहिचान बनाएका एसएसपी ऐर संगठनभित्र सबैभन्दा धेरै अवसर पाउने प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पटक–पटक उनको अंगरक्षक रहेका ऐर त्यसबेला प्रधानमन्त्रीको स्वकीय सचिवकै रुपमा काम गरेको चर्चा प्रहरी मुख्यालयमा छ । त्यसो त हरेक निर्वाचनमा कांग्रेसी उम्मेदवारलाई जिताउन र वामपन्थी उम्मेदवारलाई हराउन सकृय भूमिका खेल्दै आएका ऐरले गएको संसदीय निर्वाचनमा नेकपा नेतृ पम्फा भुषाल र नवराज सिलवाललाई हराउन आवश्यक सूचना कांग्रेस उम्मेदवारलाई दिएका थिए ।

तर, उनै ऐर अहिले नेकपा नेतृ भुषालको चाकडी गरेर डिआइजी हुने ध्याउन्नमा छन् । संसदीय चुनावताका ललितपुर प्ररहीको प्रमुख रहेका ऐर अहिले नेतृ भुषालमार्फत गृहमन्त्री रामबहादुर थापा बादलसम्म पुगेको बताईन्छ । चुनावताका कांग्रेसी उम्मेदवारलाई सजिलो हुने गरी प्रहरीको खटनपटन गरेका ऐर अहिले उनैले हराउन भूमिका खेले पनि नसकेकी नेतृ भुषाललाई प्रभावित पार्दै त्यसैबापतको सलामी लिन बादलमाथि दबाब दिएको प्रहरी मुख्यालयमा चर्चा छ । यो चर्चाले ललितपुरका नेकपाका कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।

एसएसपी ऐरले हालका आईजीपी सर्वेन्द्र खनाल आईजीपी हुँनासाथ पहिलो फूलमाला लगाउन पुगेका थिए । उनी चाकडी र चाप्लुसीमा एकदमै अगाडि रहेका छन् । उनी सेवाकालिन तालिममा समेत अहिलेसम्म “क“ ग्रेड नल्याउने अधिकृतका रुपमा चिनिन्छन् । व्यवसायिक हिसाबमा निकै कमजोर रहेका एसएसपी ऐर चाप्लुसीकै कारण हालसम्म बढुवामा पर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् । कुनै बेला उनी जिल्ला प्रमुख रहेका बखत घरमा श्रीमती हुँदाहुँदै अर्की एक महिलालाई बच्चासहित भित्र्याएका थिए ।

यस्तै, एसएसपी ऐर ललितपुर जिल्लाको प्रमखका रुपमा कार्यरत रहँदा चापागाउँ क्षेत्रमा अबैध ढुङ्गा उत्खनन गरी प्राकृतिक सम्पदाको दोहन गरि आर्थिक लाभ लिएको भनी अख्तियारबाट गोप्यरुपमा छानबिन मा परेका थिए । उनीमाथि अकुत सम्पत्ति जोहो गर्ने अधिकृतको रुपमा संगठनभित्र चर्चामा रहेका छन् ।

अहिले नेपाल प्रहरीभित्र डिआईजी महेश बिक्रम शाह ३० बर्ष सेवा अबधिका कारण यही २३ गते अवकाश पाएपछि उक्त पद खाली रहेको छ । यही डिआईजी पदमा बढुवाका लागि बिरेन्द्र श्रेष्ठ ,घनश्याम अर्याल, गणेश ऐर, पुरुसोत्त्म कंडेल , प्रकाश जङग कार्की, वसन्त कुमार पन्त, ईश्वर बाबू कार्की, दिलिप कुमार चौधरी , राजेशलाल कर्ण, देब बहादुर बोहोरा, धिरज प्रताप सिंह , उत्तम्राज सुवेदी, वसन्त लामा, दिवस लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रबिन्द्र धानुक गरी १८ जना प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्