निर्मला हत्या प्रकरण : आमाको रगत नमुना संकलन, बाबुले मानेनन्



कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको आमाको रगत नमुना संकलन गरिएको छ । बुबा यज्ञराज पन्तले भने रगत दिन मानेका छैनन् । 

निर्मला बलात्कार प्रकरणमा शङ्कास्पद भनिएका कसैको पनि डिएनए नमिलेपछि निर्मलाको शरीरमा भेटिएको ‘भेजाइनल स्वाब’ नै नक्कली भएको आशंका बढेको थियो । निर्मलाको शरीरमा भेटिएको ‘भेजाइनल स्वाब’ यकिन गर्नका लागि आमाको रगतको नमुना लिएर परीक्षण गर्न लागिएको हो । 

प्रहरीले बुधबार निर्मलाकी आमा दुर्गादेवी पन्तको मात्रै रगतको नमुना लिएको छ । महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले उनको रगतको नमुना संकलन गरेको हो । 

तर, निर्मलाका बाबु यज्ञराज पन्तले भने आज रगत दिन मानेनन् । आफ्नो मान्छेसँग सल्लाह गरेर रगतको नमुना दिने उनले बताएका छन् । 

संकलन गरिएको रगतको नमुना बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्