राष्ट्रपति कप अन्तर्राष्ट्रिय ब्याडमिन्टन : प्रिन्सलाई दोहोरो सफलता 



विराटनगर : दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा पुगेका छन् । उनले सेमीफाइनलमा रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा दाहालले म्यानमारका थु रिनमाथि यु–१९ विधामा २१–११ र २१–१५ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै यु–१५ मा उनले नेपालकै रोहित बराललाई २१–६ र २१–११ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

यस्तै यु –१९ विधामा प्रफुल महर्जन सेमीफाइनलमा पविन लिन्थेपसँग भिड्ने भएका छन् । 

यु–१५ ब्वाईज तर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु अन्तिम चारमा पुगे । गल्र्स यु–१९ तर्फको खेलमा जेशिका गुरुङ, सीमा राजवंशी, रञ्जना भट्ट र रसिला महर्जनले अन्तिम चारको यात्रा तय गरे । 

ब्वाईज यु–१९ युगल तर्फको खेलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै पविन लिनथेप र दिवस विश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । 

सेमिफाईनल खेल बिहीबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्