नेकपामा रस्साकस्सी हुँदा सभामुखमा तेस्रो पात्रको खोजी



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र सभामुख चयनको विषयलाई लिएर निकै रस्साकस्सी चलिरहेका बेला सहमतिका लागि अहिले मुख्य प्रतिस्पर्धामा देखिएका सुवास नेम्वाङ, अग्नी सापकोटा र शिवमाया तुम्बाहाम्फेभन्दा बाहिरबाट अघि सार्ने छलफल पनि शुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा मौन बस्दै सांकेतिक रुपमा पार्टी संचालनको जिम्मेवारी पाएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयमाथि ‘पर्ख र हेर’ को नीतिमा देखिन्छन् ।

योसँगै अध्यक्ष प्रचण्ड पार्टीका नेता माधवकुमार नेपालसँग मन्त्रणामा जुटिरहेका छन् । त्यस्तै प्रचण्डले सभामुखका दाबेदार मानिएका अग्नी सापकोटा, देब गुरुङ, मातृका यादव र भीम रावललगायतका नेतासँगको भेटघाटलाई तीव्रता दिएका छन् । यसबीचमा प्रचण्ड र नेपालबीच गोप्य भेटघाट समेत भएको छ ।

नेकपाभित्र सभामुख चयनको विषय पेचिलो बनिरहँदा भारतीय ‘सिआईडी’ फिल्मको गीत ‘कहिपे निगाहें, कहिपे निशाना’ जस्तै बन्न पुगेको छ । अर्थात यो विषयसँगै कहिले भैसीपाटीमा मोर्चाबन्दी हुन्छ त कहिले बानेश्वरको होटेलमा गोप्य वार्ता । यी मोर्चाबन्दी र गोप्य वार्ता तथा भेटघाटले मात्र होईन नेकपाका नेताहरु देब गुरुङ र हरिबोल गजुरेलले दिएका सार्वजनिक अभिव्यक्तिले समेत भारतीय गायक गायिका बाहिदा रहमान र संसद बेगमले गाएको यो गीतको मर्मसँग मेल खान पुगेको देखिन्छ । नेकपाका एक नेताका अनुसार सभामुख चयनको विषयले अहिले पार्टी गिजोलिएको छ ।

नेताहरुका आ–आफ्नै डम्फू
सभामुख चयनको विषयलाई लिएर अध्यक्ष प्रचण्डमाथि पूर्व माओवादी खेमाबाट सभामुख पद नछोड्न चर्को दबाब छ । शक्ति सन्तुलनका आधारमा राष्ट्रपति प्रधानमन्त्री लगायतका महत्वपूर्ण पद पूर्व एमालेपक्षबाट गएको हुनाले सभामुख पद पूर्व माओवादी पक्षले पाउनुपर्ने दाबी नेता गजुरेलको छ । अध्यक्ष प्रचण्डले पनि आन्तरिक शक्ति सन्तुलनका लागि सभामुख पदमा पूर्व माओवादी पक्षबाटै पठाउने विषयलाई चट्टानी अडानका रुपमा लिएका छन् । सभमुख पद नछोड्न पूर्व माओवादी पक्षका नेताहरुले प्रचण्डमाथि दबाब बढाउँदै गएका छन् । उनीहरुले प्रचण्डलाई ‘सबै कुरा छाड्ने हो भने काशीतिर लागे हुन्छ ’ भन्दै चर्को दबाब दिईरहेका छन् ।

लचिलो मानिने नेताका रुपमा पहिचान बनाएका प्रचण्डलाई यो दबाबले समेत अप्ठेरोमा पारेको छ । पछिल्ला दिनमा सभामुखका विषयमा प्रधानमन्त्री ओलीलाई दबाब दिने उद्देश्यका साथ नेकपा नेता बामदेव गौतमको निवास भैसीपाटीमा बहुमत सचिवालय सदस्य आफूसँग रहेको सन्देश प्रवाह हुनेगरी बैठकमा सहभागीता जनाएका प्रचण्डका लागि यो बैठक प्रतिउत्पादक बनेको पनि बताईन्छ ।

उता सभामुख चयनका विषयमा नेता नेपाललाई साथमा लिन प्रचण्ड सफल भएका छन् । नेपालले सभामुख पदमा पूर्वमाओवादीबाटै अघि सार्ने कुरामा प्रचण्डलाई साथ दिएका छन् । बानेश्वरको एक होटेलमा भएको गोप्य वार्तामा उनीहरुबीच यो सहमति भएको बताईन्छ ।

प्रधानमन्त्री ओली भने पार्टीमा अब पूर्व एमाले र माओवादीबीचको रेखा मेटाउँदै पार्टी एकताको सन्देश दिनेगरी योग्यता र क्षमताको आधारमा सभामुख चयन गर्नुपर्ने बताउँदै आएका छन् । त्यसका लागि ओलीले योग्य पात्रका रुपमा संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख नेम्वाङलाई अघि सारेका छन् ।

तर अध्यक्ष प्रचण्डले भने नेता सापकोटालाई अघि सारिरहेका छन् । दुई अध्यक्षबीच सहमति नहुँदा निकास निस्कन सकिरहेको छैन ।

तेस्रो पात्रको खोजी
नेम्वाङलाई अघि सारेका प्रधानमन्त्री ओली र सापकोटालाई सभामुख बनाउनुपर्ने अडान लिईरहेका प्रचण्डबीच सहमति नहुँदा नेकपाभित्र तेस्रो पात्रको खोजी पनि भित्रभित्रै शुरु भईरहेको बताईन्छ । पार्टीमा आलोचक भनेर चिनिएका घनश्याम भुषाल र योगेश भट्टराईलाई मन्त्री बनाएर चुप लगाएको ओलीले ट्याक्टिकल ढंगले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्यमा अगाडी बढाएका छन् । त्यसैले पछल्ला दिनमा मौन बस्दै आएका ओली गाँठो फुकाउन कुनै न कुनै उपाय निकाल्ने कुरामा नेताहरु विश्वस्त देखिन्छन् ।

एकातिर अध्यक्षद्वयले अघि सारेका पात्रहरुका विषयमा टिकाटिप्पणी भईरहेको र अर्का तर्फ सभामुखको दाबी गर्दै पार्टी निर्देशनको पनि अवज्ञा गरिरहेकी उपसभामुख तुम्बाहाम्फेलाई अनुशासनको कारबाही गर्नुपर्छ भन्ने कुरामा प्रचण्ड–नेपालबीच साउती हुँदा तेस्रो पात्रको खोजी हुनसक्ने एक नेता बताउँछन् । पार्टीभित्रको आन्तरिक शक्तिसन्तुलनमा बलियो उपस्थिति बनाउँदै गरेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलनिकट पम्फा भुषाल तेस्रो पात्रका रुपमा अघि सारिएको बताईन्छ । यससन्दर्भमा बालुवाटारमा प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच छलफल अघि बढिरहेको श्रोतको दाबी छ ।

तेस्रो पात्रका रुपमा भुषाललाई अघि सार्ने चर्चा चलिरहँदा पहिला प्रचण्डको साथ छोड्दै वैद्य हुँदै फेरी फर्किएका बादल समूह बलियो हुने हिसाब किताब पनि पूर्व माओवादीहरुले गर्न थालेका छन् ।

के गर्दैछन् तुम्बाहाम्फे ?
पार्टी नेतृत्वले उपसभामुखबाट राजिनामा दिन गरेको निर्देशनको अवज्ञा गर्दै आएकी उपसभामुख तुम्बाहाम्फेलाई भित्रभित्रै प्रधानमन्त्री ओलीको दह्रो साथ रहेको प्रचण्ड लगायतका केही नेताले आशंका गर्दै आएका छन् ।

तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन र संरक्षण रहेको कुरा पनि चर्चामा छ । बालुवाटार पुगेर अध्यक्षद्वयसँग आफूलाई सभामुखमा अघि सार्न आग्रहका साथ आफ्नो अडान कायम राखेकी उपसभामुख तुम्बाहाम्फेले आफूले राजिनामा दिनुपर्ने चित्त बुझ्दो कारण र जबाफ नेतृत्वसँग माग गरेकी छन् । उनले भनिन– मैले राजिनामा दिनुपर्ने चित्तबुझ्दो जबाफ मागेकी हुँ । नेतृत्वबाट त्यो आएको छैन । आएपछि त्यसैबेला आवश्यक निर्णय लिन्छु । तुम्बाहाम्फेले अहिले पार्टीका दोस्रो तहका नेताहरुसँग छलफलमा जुटिरहेकी छन् ।

उनले तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफू्रले किन भोग्नुपर्ने भन्दै नेतृत्वसँग प्रश्न समेत उठाएकी छन् । पार्टीभित्रका महिला सांसदहरु अहिले तुम्बाहाम्फेलाई सभामुख बनाउन लविङ गर्दै नेतृत्वलाई दबाब दिईरहेका छन् । विपक्षी दलका महिला सांसदहरु पनि खुलेरै तुम्बाहाम्फेको पक्षमा धारणा व्यक्त गरिरहेका छन् ।

अब के हुन्छ त ?

नेपथ्यमा उपसभामुखले राजीनामा नदिदा अप्ठ्यारो परेको बताएपनि भित्री कुरा भने दुई अध्यक्षको कुरा नमिल्दा सभामुख चयनको विषयले निकास पाउन सकिरहेको छैन । जसले गर्दा एकातिर प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदा नेकपाको आलोचना भईरहेको छ भने अर्कातर्फ एकीकरण प्रकृयाको संक्रमण पार गर्न नसक्दा नेकपा संकटमा पर्दैछ ।

सभामुख चयनको विषयले पार्टी एकीकरण भएपनि मन मिलेको छैन भन्ने मनोविज्ञानको सन्देश प्रबाह हुन पुगेको छ । यस्तो परिस्थितिमा आगामी ६ गते भित्रै नेकपाले सभामुख चयनको विषयलाई टुङ्गोमा पुर्याउनुको विकल्प छैन ।

नेकपा महासचिव विष्णु पौडेल यो हप्तामा सभामुख चयनको विषय पार्टीले यथोचित ढंगले निर्णय गर्ने बताउँछन् । त्यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ उपसभामुख तुम्बाहाम्फेले सभामुखमा उम्मेदवारी दिन राजीनामा दिनुको विकल्प नभएको बताउँदै तुम्बाहाम्फेलाई राजीनामा दिएर सभामुख निर्वाचनको ढोका खोल्न आग्रह गरेका छन् । उनले उपसभामुख तुम्बाहाम्फेले राजिनामा दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्