अन्तर्राष्ट्रिय संस्थालार्इ ६० दिनभित्र देश छाेड्न पाकिस्तानकाे अादेश



काठमाडौं : पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्था (एनजीओ) हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । ती संस्थालाई आफ्ना सबै काम बन्द गर्न पनि पाकिस्तान सरकारले भनेको छ ।

 

पाकिस्तानमा मानवअधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ । यो निर्णयबाट एक्सन एड, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनललगायत संस्था प्रभावित भएका छन् ।

 

पाकिस्तानको गुप्तचर विभागले अन्तर्राष्ट्रिय संगठनहरुलाई शंकास्पद दृष्टिबाट हेर्ने गर्छ । यसअघि अमेरिकी सीआईएले ओसामा बिन लादेनलाई खोज्ने गोप्य उद्देश्यसहित फर्जी खोप अभियान चलाएको आरोप पाकिस्तानले लगाउँदै आएको छ ।

 

एक्सन एडले पाकिस्तान सरकारको यो फैसला समुदायमाथिको हमला भएको टिप्पणी गरेको छ । तर, यसबारे पाकिस्तान सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

 

यसअघि सन् २०१७ मा पनि पाकिस्तानले यस्तै निर्णय लिएको थियो तर पश्चिमा सरकारको दबावमा उक्त निर्णय फिर्ता लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्