अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रिय : वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर



काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ ।

वन तथा वातावरण मन्त्रालयमा कार्यरत सहसचिव श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । छानबिनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । 

लामो समय मालपोत र यातायात कार्यालयका काम गरेका श्रेष्ठ सधैँ विवादमा परिरहने कर्मचारी हुन् । राजनीतिक नेतृत्वसँग साँठगाँठ गरी उपसचिव हुँदा उनी डिल्लीबजार तथा कलंकी मालपोतमा बसेका थिए । उनी सहसचिव भएपछि दुईपटक गरेर यातायात व्यवस्था विभागमा करिब तीन वर्ष महानिर्देशक भएका थिए ।

उनी महानिर्देशक भएकै वेला स्मार्ट लाइसेन्स छपाइको टेन्डर भएको थियो । जसमा भएको अनियमिततामा अख्तियारले छुट्टै अनुसन्धान गरिरहेको छ । यातायात व्यवसायीहरूको पक्षमा निर्णय गरेर उनले लाखौँ कमाएकोसमेत  छानबिनमा खुलेको छ । 

जोगिन अरूको नाममा सम्पत्ति

उच्च पदस्थ व्यक्तिहरूले सम्पत्ति असम्बन्धित व्यक्तिको नाममा लुकाउने गरेको आयोगले जनाएको छ । आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काले अमिता लामा सोदेम्बाको नामा सात करोड ५४ लाख ५७ हजार रुपैयाँबराबरको सम्पत्ति लुकाएका थिए ।

अमितालाई खड्काले नै सानैदेखि पालेका थिए । पछि सम्पत्ति लुकाउन उनकै नाममा घरदेखि गाडी खरिद गरेका थिए । सहसचिव श्रेष्ठले पनि नवलपरासीकी भगवती योगीको नाममा घर खरिद गरेका थिए । श्रेष्ठले अरू धेरै सम्पत्ति अन्य व्यक्तिको नाममा राखेको भए पनि पत्ता लाग्न नसकेको स्रोत बताउँछ । 

धेरै उच्च पदस्थ व्यक्तिहरूको जीवनशैली निकै आलिसान भए पनि उनीहरूको नाममा सम्पत्ति भने थोरै देखिने गरेको छ । कतिपयले सम्पत्ति विदेशसमेत पु-याएको आयोगको छानबिनमा खुल्ने गरेको छ । धेरैले सम्पत्ति लुकाउन चलाखी गर्ने भएकाले अनुसन्धानमा निकै मिहिनेत गर्नुपर्ने अवस्था रहेको आयोगका प्रवक्ता रामेश्वर दंगाल बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्