इन्डो-प्यासिफिकमा समर्थन खोज्दै जापान



काठमाडौं : जापानी विदेशमन्त्री तारो कोनोले नेपाल दक्षिण एसियाको राजधानी भएकोले यस क्षेत्रको राजनीतिक स्थायित्व, शान्ति र समृद्धिमा भूमिका खेल्नसक्ने बताएका छन्। भारतमा उच्चस्तरीय राजनीतिक भेटघाट सकेर बुधबार काठमाडौं ओर्लेका कोनोले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग दुईपक्षीय वार्ता गरे। चीन र भारतको बीचमा रहेको नेपालले यसक्षेत्रमा भूमिका खेल्नसक्ने अमेरिकी विश्वास र धारणालाई नै बल पुग्नेगरी जापानी मन्त्रीले पनि आफ्नो भनाइ राखे। उनी भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्र र यसको रणनीतिबारे छलफल गरेर काठमाडौं आएका हुन्।

 

मंगलबार सुरु भएको रायसेना डायलगमा समेत सहभागी भएका उनले परराष्ट्रमन्त्री ज्ञवालीसँग कूटनीतिक नोट साटेर नेपाल–जापान सीधा हवाइ सेवा आरम्भ समेत गरे। ज्ञवाली जापानको औपचारिक भ्रमण गरेको डेढ महिनापछि उनी नेपाल आएका हुन्। उनको यो भ्रमणलाई प्रधानमन्त्री केपी ओलीको जापान र जापानी समकक्षी सिन्जो आबेको नेपाल भ्रमणको तयारीका रूपमा हेरिएको छ। कूटनीतिक क्षेत्रका जानकारहरुले यो भ्रमणलाई निकै महत्वपूर्ण भ्रमण भनेका छन्। नेपालमा संविधान जारी भएपछि त्यसमा सहमति जनाउँदै नयाँ सरकारसँग सहकार्यको आयाम खोल्न भ्रमण गरिएको जापानी धारणा छ।

 

छ वर्षपछि जापानी विदेशमन्त्रीले नेपाल भ्रमण गरेका हुन्। जापानले नेपाललाई महत्वपूर्ण भूपेरिवेष्ठित मुलुकको रुपमा व्याख्या गर्दै आएको छ। ‘नेपाल र भारतबीच बलियो आर्थिक र सांस्कृतिक सम्बन्ध छ भने चीनसँग मैत्री सम्बन्ध छ,’ जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय सूचना विभाग निर्देशक नात्सुको साकाताले बुधबार साँझ सम्पादकहरुसँगको अन्तरक्रियामा भनिन्, ‘नयाँ सरकारसँग राजनीतिक र आर्थिक सम्बन्ध विस्तार गर्न यो भ्रमण भएको हो।’

 

लामो समयदेखि दुई देशका उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान र भेटवार्ता हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा भेटघाटले निरन्तरता पाउने अपेक्षा साकाता व्यक्त गरिन्। ‘जापानी विदेशमन्त्री कोनोको भ्रमणले नेपाल–जापान सम्बन्धमा नयाँ आयामको ढोका खोलेको छ,’ उनले भनिन।

 

इन्डो प्यासिफिक क्षेत्रको सुरक्षाबारे भएको छलफलाई अझ उचाइ दिन भारत र जापानका रक्षामन्त्रीबीच छिट्टै वार्ता गर्ने सहमति भएको छ। कोनोले नेपालमा पनि यस क्षेत्रको शान्ति र सहकार्यमा जोड दिँदै इन्डो प्यासिफिक क्षेत्रको सहकार्यमा साथ खोजेका हुन्। इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाको साझेदारका रूपमा भारत, जापान र अस्ट्रेलिया रहेको जापानी विदेश मन्त्रालयका सहप्रवक्ता समेत रहेकी साकाताले स्वीकारिन्। ‘यो क्षेत्रको शान्ति तथा उत्तर कोरियाले सुरक्षा परिषद्को निर्णयलाई लत्याएको विषयमा पनि हामीले छलफल ग¥यौं,’ उनले भनिन्, ‘विश्व शान्तिका लागि सबै एकै स्थानमा आउनेगरी काम हुन आवश्यक छ। यसका लागि जापानले पनि सक्रिय भूमिका निर्वाह गर्छ। हामी यही इन्डो प्यासिफिक क्षेत्रका मुलुक हौं।’

 

उत्तर कोरिया र चीनबीच राम्रो सम्बन्ध छ। नेपालको चीनसँग मित्रता र उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध छ। त्यसैले शान्तिको पहलमा सार्कको राजधानी नेपालको आफ्नै महत्व रहने उनले बताइन्। हरेक मुलुकको विकासको मोडल र सम्बन्ध आफ्नाआफ्नै हुने बताउँदै उनले भनिन, ‘हामीले विश्व परिवेश र दुईपक्षीय सम्बन्धको बारेमा नै कुरा गर्ने हो।’

 

चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपालको सहकार्यलाई दुईपक्षीय मामिलाको संज्ञा दिँदै यसबारे कुनै धारणा दिइनन्। ‘सबैको आआफ्नो योजना हुन्छ। त्यो बुझ्ने सम्बन्धित मुलुकले नै हो। नेपालले यस्ता विषय सहजै बुझ्ने हाम्रो विश्वास छ।’ परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणमा पनि यिनै विषयमा छलफल भएको थियो। अमेरिकी गठबन्धनमा रहेको जापानले पनि यिनै विषयलाई जोड दिएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्