भारतमा मृत्यु भएका वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी



बाँके : भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा भेटिएका कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको शव नेपाल ल्याउने तयारी गरिएको छ ।

खड्काको शव ल्याउन नेपाली प्रतिनिधि टोली बहराइच पुगेको छ । भारतीय प्रहरीको सहयोगमा खड्काको शव नेपाल ल्याउने तयारी भइरहेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भीम रावतले जानकारी दिए ।

उनका अनुसार, बुधबार नै खड्काको शव नेपाल ल्याउने बताइए पनि शव परीक्षणका लागि समय लागेकाले आज शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

वडाध्यक्ष खड्काको शव बुधबार बिहान बहराइचस्थित एक होटलमा फेला परेको थियो । खड्काको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिँडेका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिएका हुन् । घटनाबारे नेपाल प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

तत्कालीन नेकपा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य थिए । –रासस

प्रतिक्रिया दिनुहोस्