हेल्थ असिस्टेन्टहरुको हाकिम हुने व्यवस्थाप्रति आपत्ति



जनकपुरधाम : हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले १५ महिने कोर्ष गरेका अहेवहरु ३ वर्षे कोर्ष अध्ययन गरेका हेल्थ असिस्टेन्टहरुको हाकिम हुने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

जनकपुरधाममा आयोजित हानको प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट हेल्थ असिस्टेन्ट संघ आवद्व स्वास्थ्यकर्मीहरुले तहगत मिलान गर्दा शैक्षिक योग्यतालाई ध्यान नदिएकोले विरोध जनाएका हुन् ।

प्रदेशको आठवटै जिल्लाका जिल्ला अध्यक्ष एवं प्रदेश अध्यक्ष रविन्द्र कुमार साहको सहभागितामा भएको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट सरकारले गरेको नितिगत त्रुटीहरु नसच्चिए आन्दोलनमा जान पनि बाध्य हुने उनीहरुको चेतावनी छ ।

कर्मचारी ऐन २०७५ को दफा ७ अनुसार कार्यरत पदको ज्येष्ठताको आधारमा समायोजन भएकोमा त्यसलाई सच्याउन उनीहरुको माग छ । यसरी समायोजन हुँदा ३ वर्षे कोर्ष अध्ययन गरेकाहरु १५ महिने कोर्ष पढेकाहरुको अधिनमा बसेर काम गर्नुपर्ने बाध्यात्मक स्थितीको सृजना भएको उनीहरुको तर्क छ ।

स्वास्थ्य सेवा ऐन २०५३ नियमावली २०५५ र कर्मचारी समायोजन ऐन २०७५ विपरित स्वास्थ्य सेवालाई धारासायी बनाउने गरि माथिल्लो शैक्षिक योग्यता नै नभएका र लोकसेवाको प्रक्रिया पुरा नगरेका कर्मचारीलाई स्तरवृद्वि भएकै आधारमा सिधै माथिल्लो तहको जिम्मेवारी दिने किसिमले भएको समायोजनले आफुहरुसंग अन्याय भएको उनीहरुको तर्क छ ।

सरकारले आफुहरुको माग प्रति समयकै सुनुवाई नगरे आन्दोलन गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्