गुप्तचरमा व्यक्ति केन्द्रित नियमावली संशोधन



काठमाडौं : सरकारले एउटा व्यक्तिलाई केन्द्रित गरेर नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागका प्रमुखमा गणेश अधिकारीलाई नियुक्त गरेको छ । 

पाँच महिनापछि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका विभागका प्रमुख दिलीप रेग्मीलाई हटाएर उनीसँगै अवकाश हुने अधिकारीलाई नियमावली संशोधन गरी नियुक्त गरिएको हो ।

नियमावली संशोधन गर्दा लोकसेवा आयोगलाई समेत छलेर ३० वर्षे सेवा अवधि हटाई ३२ वर्षे वा ५८ वर्ष उमेर हद कायम गरिएको छ । विभाग स्रोतका अनुसार ३० वर्षे सेवा अवधिका कारण आगामी जेठ १५ गते अनिवार्य अवकाश पाउने भए पनि सरकारले दिलीप रेग्मीलाई पदावधि नपुग्दै हटाएको हो । 

नवनियुक्त प्रमुख अधिकारीको पनि पदावधि आगामी जेठ १३ गतेसम्म छ । प्रधानमन्त्री कार्यालयले उनलाई सूचना प्रवाहमा कमजोर रहेको र यसअघि पनि विवादास्पद भूमिकामा रहेको भन्दै हटाएको हो । उनीमाथि पत्रिकामा आएका समाचार संकलन गरी सरकारलाई गलत रिपोर्ट गरेको आरोप लगाइएको स्रोतले जनाएको छ ।

पूर्व गृहसचिव श्रीकान्त रेग्मीले व्यक्ति केन्द्रित भएर नियमावली संशोधन गर्दा गलत सन्देश गएको बताए । ‘पदमा बहाल भएको पदाधिकारीलाई सेवासर्त प्रतिकूल हुनेगरी हटाउन पाइँदैन । यसपछि गरेको भए राम्रो हुन्थ्यो । सरकारको नीति हाम्रा राम्रा भन्नेतर्फ गएको हो कि भन्ने सन्देश प्रवाह भयो’, रेग्मीले भने । 

सरकारले काम गर्दा सकारात्मक सन्देश जान नसकेको बताउँदै व्यक्ति केन्द्रित नियमावली संशोधनले विभागका अन्य पदाधिकारीलाई समेत असर गर्ने उनको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्