जाँगर र सीप चाहिन्छ : पैसा कमाउन कही जानुपर्दैन



पाल्पा : काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे। ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए। पसिना बगाए।

उनलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाले। उनी दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किए।

उनले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने सोच बुने। व्यवसाय शुरु गरे। उनले भने, “गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा रु पाँचलाख आम्दानी लिएँ ।” घरको गुजारा चलाउन धौधौ परेपछि स्नातक तहको पढाइ बिचमै छाडेर उहाँ वैदेशिक रोजगारमा होमिएका थिए।

“विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको भए मालामाल हुने रहेछ, अहिले सम्झदा पश्चाप लागेको छ”, उनले अनुभव सुनाउँदै भने।

उनको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गरेका उनले भने, “सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिएका छन्।” पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ ।

नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी रु तीन लाख ऋण सहयोगसमेत गरेको छ । रामपुर नगरपालिका क्षेत्रमा बाख्रापालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउछन्।

“विदेश गएर फर्केका युवाको बाख्रापालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ”, उनले भने।

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रुपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो । बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने गरेका छन् ।

विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घरखर्च र केही रकम कोशेलीका रुपमा राख्ने गरेका छन् । रामपुर नगरपालिकाले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न बाख्रापालन व्यवसायमा अनुदानलगायतका कार्यक्रम चलाइरहेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिए।

कृषकलाई व्यवसायमा दक्ष बनाउन विभिन्न सीप तथा ज्ञान दिने र व्यवसायबाट राम्रो कमाउने वातावरण नगरपालिकाले व्यवस्थापन गरिदिने उनले बताए।– रासस

प्रतिक्रिया दिनुहोस्