कर्णाली प्रदेश : माघी पर्वमा सार्वजनिक बिदा हुने



सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन्।

 

नेपाल मगर सङ्घद्वारा आयोजित ५ दिने मकर सक्रान्ति मेलालाई बुधबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताए। उनले आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको दाबी गरे।

 

‘अब अधिकारको लडाइँ सकियो, यदि कतै असन्तुष्टि भए शान्तिपूर्ण वार्ताबाटै निकास सम्भव छ’, उनले भने, ‘आन्दोलन गरेर समय खेर कसैलै नफालौँ, सबै आर्थिक विकासतर्फ केन्द्रित हुनु आवश्यक छ।’ मुख्यमन्त्री शाहीले मुलुकमा सुशासन र विकासका लागि सबै जातजाति, भाषा, धर्म, समुदाय एकताबद्ध हुन जरुरी रहेको बताए।

 

सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए।मेलालाई प्रदेश उपसभामुख पुष्पा घर्ती विष्ट, प्रदेशसभा सदस्य पद्मा खड्का, अमृता विसी, विन्दमान विष्ट, नगर प्रमुख देवकुमार सुवेदी लगायतले सम्बोधन गरेका थिए। रासस 

प्रतिक्रिया दिनुहोस्