दादुरा खोप लगाउँदा कञ्चनपुरमा १५ महिने बालकको मृत्यु



टीकापुर: बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ। बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो।

 

‘बच्चालाई कुनै समस्या थिएन। बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ। खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो। टीकापुर अस्पताल ल्याउँदा–ल्याउँदै बच्चाको मृत्यु भइहाल्यो’, मृतक बालकका बुबा वासुदेव चौधरीले भने, ‘स्वस्थ बच्चा खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरबाही भएकाले यसको अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्दछ।’

 

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले एकै भाइल ७ देखि १० बालकलाई लगाइने र अरू बच्चामा केही समस्या नभएको बताए। उनले ती बालकलाई यो दोस्रो डोज लगाइएको र उसको मृत्युको बारेमा खोप महाशाखा र विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकलाई खबर गरिसकेको बताए।

 

टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने तर्क गरे। ‘खोपले गर्दा बच्चाको मृत्यु भए÷नभएको टीकापुर अस्पतालमा परीक्षण गर्न सकिँदैन, खोपप्रति आशङ्का भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्दछ’, चिकित्सक खनालले भने, ‘अरू बच्चालाई पनि खोप दिनुपर्ने भएकाले सरकारले आफैँ परीक्षण तथा सजकता अपनाउनुपर्ने उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्