उपसभामुखको राजीनामासँगै सभामुख चयन हुने प्रवक्ता श्रेष्ठको दाबी



नवलपरासी : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामृुख शिवमाया तुम्बाहाम्फेले छिट्टै राजीनामा दिने बताउँदै उनको राजीनामासँगै नेकपाले सभामुखका लागि अघि सार्ने व्यक्तिको निर्णय हुने जानकारी पनि दिए ।

सभामुख चयनमा ढिलाइ भएको स्वीकार गर्दै उनले भने– ‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो । तर, पनि हामी छिट्टै निष्कर्षमा पुर्‍याउँछौं ।’

आज (शनिबार) नवलपरासीमा पत्रकारहरूसँग श्रेष्ठले भने, ‘माघ ६ गते संसद बैठक बोलाइएको छ। सूचना टाँसेर स्थगित गर्नु हुँदैन।’

उपसभामुखले राजीनामा दिने विश्वास पार्टीको रहेको श्रेष्ठले बताए। ‘उहाँले राजीनामा दिनुहुन्छ भन्ने विश्वास छ। उहाँ पार्टीबाट निर्वाचित भएरै उपसभामुख हुनुभएको हो । यसबारे थप चर्चा गर्नु जरूरी छैन,’ उनले भने ।

उनले सभामुख पूर्वएमाले वा पूर्वमाओवादी भन्नेमा केन्द्रीत नरहेको दाबी गरे । उपर्युक्त पात्र खोजीका लागि केही ढिलाइ भएको उनको भनाइ छ ।

‘पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी इतिहास भइसक्यो। इतिहास लेख्दा मात्रै पूर्वएमाले र पूर्वमाओवादी लेख्छौं अब,’ उनले भने, ‘को व्यक्तिलाई बनाउने भन्ने छलफल मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस्