राष्ट्रिय सभामा मतदान गर्न पार्टीका मतदातालाई राजपाको ‘ह्वीप’



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।

आज (शनिबार) पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग भएका तालमेल अनुसार मतदान गर्न पार्टीका मतदातालाई अत्यावश्यक निर्देश (ह्वीप) जारी गरेको हो ।

बैठकले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा दुई पार्टीबीचको गठबन्धन अनुसार मतदान गर्न पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘राजपा र नेकपा बीच चुनावी तालमेल भएअनुसार राजपा नेपाल र नेकपाका उम्मेदवारहरुलाई अनिवार्य रूपले उपस्थित भई आफ्नो अमूल्य मत दिई गठबन्धनमा रहेका चारवटै उम्मेदवारलाई विजयी गराउन पार्टी अध्यक्ष मण्डलको निर्णयअनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा राजपा नेपालका मतदाताहरुलाई अत्यावश्यक निर्देशन (ह्वीप) जारी गरिन्छ,’ बिज्ञप्तिमा लेखिएको छ ।

राजपा नेपाल र नेकपाबीचको सहमतिअनुसार अल्पसंख्यक समूहबाट शेखरकुमार सिंह तथा अन्य समूहबाट मृगेन्द्रकुमार सिंह छन् भने महिला उम्मेदवार तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्