सभामुखका लागि नयाँ नाम ‘इन्ट्री’ : ओली मौन बस्दा प्रचण्ड तनावमा



काठमाडौं : पेचिलो बन्दै गएको सभामुख उम्मेदवार टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृहकार्यमा जुटेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का प्रचण्डबीच सहमति जुटन नसकेपछि नयाँ बिकल्पको खोजी समेत शुरु भएको हो । आज (शनिबार) बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र दाहालबीच सभामुख उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको छ ।

अहिलेसम्ममा चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्यत्रय हरिबोल गजुरेल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी मध्ये एकलाई सभामुख उम्मेदवार बनाउने विषयमा छलफल शुरु भएको छ । यधपी गजुरेल, शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति भएको छैन । शर्माले आफू सभामुख बन्न रुचि नभएको धारणा सार्वजनिक गरेका छन् ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अहिलेसम्म चर्चा भएका नाममा सहमति नजुटेपछि नयाँ बिकल्पको खोजीमा अध्यक्षद्वय ओली र प्रचण्ड जुटेका छन् । नयाँ बिकल्पको खोजीको क्रममा गजुरेल, शर्मा र रायमाझीको नाममा छलफल भएको उनले बताए । बालुवाटार स्रोतका अनुसार पार्टी कामको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले पार्टीबाट सहमतिका साथ निर्णय नगरेमा आफूले संसदीय दलबाट निर्णय गराउने भनेपछि प्रचण्ड तनावमा परेका छन् । ओली र प्रचण्ड पटक–पटक सघन छलफलमा देखिएपनि अहिलेसम्म निकास नपाउनुको पछाडी दुवै नेताले आआफ्ना अडानबाट पछि नहटेका स्रोतको दाबी छ ।

‘सभामुख उम्मेदवार टुंगो लगाउँने विषयमा विभिन्न नाममा छलफल भयो तर सहमती जुटन सकेन’ नेकपा स्रोतले भन्यो, ‘सहमती नजुटेपछि नयाँ बिकल्पको खोजी शुरु भएको छ, अध्यक्षद्वय अहिले छलफलमै हुनुहुन्छ ।’

नेकपाबाट सभामुख उम्मेदवार बन्नका लागि स्थायी कमिटीका सदस्यहरु सुवाषचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुषालको दाबी रहँदै आएको छ । यस्तै उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाम्फेले समेत सभामुख हुन लविङ गरिरहेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाम्फे, ओलीले नेम्वाङ, प्रचण्डले सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले भुषाललाई सभामुख बनाउनुपर्ने भनेर छलफल अगाडी बढाएका थिए ।

पूर्व सभामुख समेत रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङ र उपसभामुख डा. तुम्बाहाम्फेको नाममा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ती जनाउँदै आएका छन् । नेम्वाङलाई यसअघि पार्टीले पटक–पटक राजकीय जिम्मेवारी दिँदै आएको र डा. तुम्बाहाम्फेले पार्टी निर्णय नमानेकाले दाहाल र नेपालले आपत्ती जनाएका हुन् । नेकपा सचिवालयले उपसभामुखबाट राजीनामा दिन निर्देशन दिए पनि तुम्बाहाम्फेले मानेकी छैनन् ।

सापकोटाको नाममा ओली सहमत भएका छैनन् । सर्वोच्च अदालतमा काभ्रेका अजुर्न लामा हत्या काण्डमा सापकोटामाथि बिचारधीन मुद्दा रहेको छ । सो मुद्दामा सापकोटा बिरुद्ध फैसला भए के गर्ने भन्ने चासो नेकपामा रहेको छ । नेकपा स्रोतका अनुसार भोलीको दिनमा सापकोटा बिरुद्ध सर्वोच्चले निर्णय गरे पार्टीकै बदनामी हुने भएकाले उनको नाममा सहमति जुटन नसकेको बताईएको छ ।

भुषालले एमसीसी सम्झौता र गुठी बिधेयकको बिरुद्ध गरेकाले उनलाई सभामुख उम्मेदवार बनाउँन नसकिएको नेकपा स्रोतको दावी छ । बिगतमा सरकारले अगाडी सारेको गुठी बिधेयकका साथै एमसीसी सम्झौताको बिरुद्धमा अभिव्यक्ति दिँदै अग्रपंतिमा उभिएपछि भषालको नाममा सहमति जुट्न नसकेको बताइएको छ ।

सभामुख उम्मेदवार हुने चर्चा भएका नेम्वाङ, डा. तुम्बाहाम्फे, सापकोटा र भुषालको नाममा सहमति जुटाउने प्रयास यसअघि भएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डको बीचमा भएको पटक–पटक छलफलमा यि नेताको नाममा सहमती जुटाउँने प्रयास भएको थियो ।

यता नेकपा सचिवालय बैठकबाट भएको निर्णय अनुसार उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद बैठक पटक–पटक सूचना जारी गर्दै स्थगित हुँदैआएको छ ।

संविधान अनुसार पाएको अधिकार प्रयोग गर्दै संघीय संसदको प्रतिनिधिसभा बैठक जसरी पनि अगाडी बढाउने बताएकी उपभामुख डा. तुम्बाहाम्फेले अन्ततः आफैले बैठक स्थगित गर्दै आएकी छन् ।

गत ४ पुस देखी शुरु भएको संसदको हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाईएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

यसअघि आजै बिहान प्रधानमन्त्री ओली, प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा संक्रमणकालिन न्याय टुंगो लगाउँने विषयमा सकारात्मक छलफल भएको छ ।

छलफलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी बिधेयक ल्याउने सहमती जुटेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शीर्ष नेताबीचको छलफलले आयोग सम्बन्धी विधेयक ल्याउने सहमती भएको बताए ।

संसदको जारी हिउँदे अधिबेशनमै बिधेयक ल्याएर शन्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने सहमति भएको बताए । यस अघि शीर्ष नेताका बीचमा भएको छलफल कुनै सहमति जुट्न नसक्दा संक्रमणकालिन न्यायको टुंगो लगाउँन सकस परेको थियो ।

प्रतिक्रिया दिनुहोस्