ज्येष्ठ नागरिकलाई कम्बल वितरण



सिञ्जा : निरन्तर हिमपातका कारण अत्यधिक चिसो बढ्न थालेपछि जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका ७० वर्ष नाघेका झण्डै ४४४ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।

तिला गाउँपालिका–२ का ज्येष्ठ नागरिकलाई गाउँपालिकाको कार्यालयमै बोलाएर कम्बल बाँडेको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगबहादुर बस्नेतले जानकारी दिए । उनले भने, “हिमपातसँगै बढेको चिसोले यहाँका ज्येष्ठ नागरिक निकै प्रभावित छन् । सानै भए पनि न्यानो प्रदान गर्न कम्बल बाँडेका हौँ ।”

सडक छेउछाउमा रहेका बस्ती र दुर्गम क्षेत्रका वडामा सम्बन्धित वडा कार्यालयले कम्बल बाँड्दैछन् । अत्यधिक चिसो भइरहेको बेला गाउँपालिकाले कम्बल वितरण गरेकोमा ज्येष्ठ नागरिक निकै खुशी भएका छन् । उनीहरुले पछिल्लो समयमा स्थानीय सरकारले गरेकोसम्म निकै खुशी भएका छन् ।

गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले दूरदराजको बस्तीमा गाउँमै पुगेर कम्बल बाँड्ने योजना रहेको बताए । पहिलो दिनमा वडा नम्बर २ का ४९ ज्येष्ठ नागरिकलाई कम्बल बाँडिएको हो । यो कम्बल जुम्लासम्म आइपुग्न भ्याटसहित रु ६५० मूल्य परेको छ । ज्येष्ठ नागरिकका लागि गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको थियो । चिसो मौसमलाई मध्यनजर गर्दै कम्बल वितरण गरेकोप्रति स्थानीयवासी निकै खुशी छन् । रासस

प्रतिक्रिया दिनुहोस्