केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो



सोलुखुम्बु : प्रहरीले सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलाएको छ। तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए । स्थानीय बासिन्दाको मागलाई प्रशासनले बेवास्ता गरेपछि झडप भएको तिङ्लाका स्थानीय बालकुमार कार्कीले बताए।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् ।

तिङ्लावासीको विरोधका कारण प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा–सल्लेरी फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्