सञ्चारमन्त्रीको छड्केले दूरसञ्चार प्राधिकरणमा खलबली 



काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणमा छड्के निरीक्षण गरेका छन् । बिहान बालकोटस्थित निवासबाट निस्किएका बास्कोटा सीधै कमलादीस्थित प्राधिकरणको कार्यालयमा पुगेका थिए । उनले त्यहाँ पछिल्लो समय विवाद र चर्चामा रहेका प्राधिकरणका कामकारबाहीबारे जबाफ मागे । 

प्राधिकरणबाट भइरहेका कामबारे सञ्चारमाध्यमदेखि सर्वोच्च अदालतसम्म प्रश्न उठेपछि विभागीय मन्त्रीका हिसाबले बास्कोटा छड्के जाँचको शैलीमा बिहान १० बजे नै त्यहाँ पुगेका थिए । त्यहाँ उनले सबै विभागमा गएर फाइल पल्टाउन लगाए र अदालत तथा मिडियामा उठेका प्रश्नको जवाफ मागे । धेरैजसो विभागीय प्रमुखले तत्काल जवाफ दिन नसकेपछि उनले शुक्रबार अपरान्हसम्म सबै कागजपत्र र जवाफसहित मन्त्रालयमा आउन निर्देशन दिए । 

 

उनले ग्रामीण दूरसञ्चार कोषको रकमबाट देशभर ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कामबारे चासो राखे । प्रत्येक गाउँपालिका र वडातहसम्म इन्टरनेट विस्तार गर्ने परियोजनामा भइरहेको ढिलाइ स्वीकार्य नहुने चेतावनी पनि उनले दिए ।

 

समयभित्र काम नसक्ने सेवा प्रदायक वा ठेकेदारलाई क्षतिपूर्ति भराउने हो कि, ठेक्का रद्द गरेर अर्कोलाई दिने हो भन्ने विकल्प लिएर आउन प्राधिकरण नेतृत्वलाई निर्देशन दिए । त्यसक्रममा मन्त्रीले कर्मचारीको हाजिरीसमेत जाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्