नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक : पर्यटनमन्त्री



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएको बताएका छन । वृहत् राष्ट्रिय शान्ति कोटीहोम महायज्ञ एवम् चन्द्रागिरी धार्मिक पर्यटन महोत्सवबारे जानकारी दिन मूल समारोह समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने, ‘‘नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएको मुलुक हा, त्यसप्रति हामी गर्व गछौँ ।’’

विश्वमा धेरै स्थानमा धार्मिक तथा जातीय युद्ध भएको तर नेपाल सानो देशमा विभिन्न धर्म र सम्प्रदाय तथा सामाजिक विविधतायुक्त भएर पनि कहिल्यै पनि धार्मिक तथा जातीय युद्ध भएको छैन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण पाउन सकिने उनको भनाइ छ । उनले हिन्दु धर्मको बाहुल्यता रहेको नेपालमा अल्पसङ्ख्यकमा भएका विशेषगरी ख्रिष्टियन, मुस्लिमलगायत धार्मिक समुदायले असुरक्षा महशुस गर्नुपरेको छैन् भने । धर्म र सम्प्रदायबीचको अनुपम सहिष्णुताले नै आज नेपाल विश्वमै कहलिएको मन्त्री भट्टराईले उल्लेख गरे ।

नेपाल भ्रमण वर्ष २०२० मा एकातिर प्राकृतिक सम्पदा र प्राकृतिक सौन्दर्यतालाई नजिकबाट हेर्न पर्यटक आउँछन् भने अर्कोतिर आफ्नो धार्मिक आस्था र विश्वाससमेतलाई प्रकट गर्नको निम्ति पर्यटक आउने भएकाले धार्मिक पर्यटकको महत्वपूर्ण भूमिका हुने पर्यटनमन्त्रीको भनाइ थियो ।

उहाँले धार्मिक पर्यटनका माध्यमबाट विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिएको र त्यसका निम्ति पशुपति विकास कोष र लुम्बिनी विकास कोषलाई आवश्यक समन्वय र सहजताका लागि जिम्मेवारी तोकिएको बताए । मन्त्री भट्टराईले पशुपति विकास कोषलाई हिन्दु धर्मसँग सम्बन्धित सम्प्रदाय र सङ्घसंस्थालाई स्वदेश तथा विदेशमा समन्वय गर्न र लुम्बिनी विकास कोषलाई बुद्ध धर्मसँग सम्बन्धित संस्थाको समन्वयमा विश्वमा बुद्ध धर्मको बाहुल्यता भएका मुलुकबाट पर्यटक भित्र्याउन पहलकदमीका लागि आग्रह गरिएको जानकारी दिए ।

उनले छिमेकी मुलुक भारत र चीनका अलावा अन्य मुलुकसमेतबाट धार्मिक पर्यटक भित्र्याउन महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महाशिवरात्रिलाई विशेष उत्सवका रुपमा मनाइने

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको सन्दर्भमा यसपटक महाशिवरात्रि पर्वलाई विशेष उत्सवका रुपमा मनाउने तयारी गरिएको जानकारी दिए । शिवरात्रिमा हिस्दुस्तान मात्र नभई युरोप अमेरिकाका हिन्दु धर्मप्रति विश्वास गर्नेलाई नेपालमा ल्याउन पशुपति विकास कोषले समन्वय गरिरहेको उनले उल्लेख गरे ।

चन्द्रागिरी नगरपालिकाअन्तर्गत मातातीर्थमा आगामी फागुन १ देखि ९ गतेसम्म महायज्ञ सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महायज्ञ सञ्चालनको तयारीका लागि १०८ सदस्यीय मूल समारोह समिति बनाइएको छ । यज्ञमा भारतलगायत अन्य मुलुकबाट धर्मगुरु तथा धार्मिक व्यक्तित्व गरी करीब दुई हजार विदेशी पाहुनाको सहभागिता रहने आयोजकको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्