माइक्रो बस चालकलार्इ फ्लोरेसेन्ट ज्याकेट लगाउन कडाइ



काठमाडौँ : उपत्यकामा सञ्चालित माइक्रोबस चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । 

 

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।

 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिए । 

 

तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए ।

 

महासंघका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकबारे सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए । ‘ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ’, उनले भने । 

 

महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोहीअनुसार हाल उपत्यकाका झण्डै ८० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले उक्त ज्याकेट लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्