भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना हुँदै



काठमाडाैं : सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने तयारी गरेको छ ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा १२ बैशाख २०७२ मा गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तराष्ट्रिय स्तरको भूकम्पसम्बन्धि संग्राहलय बनाउने तयारी गरेको जनाएको छ ।

 

 प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संग्राहलय पुनर्निर्माणको चरणमा रहेको विश्व सम्पदा धरहरा परिसरमै स्थापना गर्न लागिएको बताए । प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क स्थापनाको कामलाई अघि बढाएको जनाएको छ ।

 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नशांकन कार्य अघि बढाएको बताए । 

 

उनले दुई वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस अवसरमा प्राधिकरणले हालसम्म एक खरव ६८ अरव रुपैयाँ पुनर्निर्माणमा खर्च गएको समितिलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्