चीनमा कोरोना भाइरसको संक्रमण, नेपालमा त्रास



काठमाडौं : छिमेकी देश चिनमा कोरोना भाइरसका कारण मानिसको ज्यान गएको र चिनियाँ पर्यटक नेपाल धेरै आउने भएकोले सुरक्षा सतर्कता अपनाउनुपर्ने डाक्टरहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएका एक जना नेपालीलाई डिस्चार्ज गरिएको छ । चीनमा अध्ययन गरिरहेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको शंका गरेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको थियो ।

ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना गरिएका ती विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य भएपछि शुक्रबार डिस्चार्ज गरिए । पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ । पहिलो पटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दोस्रो व्यक्तिको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ । वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको सङ्क्रमण देखिएको थाइल्यान्ड र जापानले बताएका छन् ।

चिनियाँ अधिकारीहरूका अनुसार नयाँ प्रकारको कोरोनाभाइरसका कारण पछिल्लो पटक मृत्यु हुनेमा गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीय वृद्ध रहेका छन् ।

चिकित्सकहरूका टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

’सीफूड’ विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको ठानिएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘‘विश्व स्वास्थ्य सङ्गठनले ‘कन्ट्री अलर्ट’ जारी नगरे पनि हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई चीनबाट आउने पर्यटकमा स्वास्थ्य समस्या देखिएमा त्यसलाई हेर्न भनिसकेका छन् ।’’

जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षितका अनुसार नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नभए पनि यसलाई निगरानीमा राख्न जरुरी छ । नयाँ प्रकारको कोरोनाभाइरसको हकमा मात्रै नभई अन्य खतरनाक भाइरसको हकमा पनि उत्तिकै चनाखो हुनुपर्नेमा डा. पुनको पनि जोड छ ।

‘‘हामीकहाँ अन्य प्राणघातक भाइरसलाई पनि लिएर पर्याप्त सावधानी अपनाइएको देखिँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउन र त्यहाँ बस्ने स्वास्थ्यकर्मीलाई अझ तालिम दिन आवश्यक छ,’’ उनले भने । यो भाईरस जनावर र मानिसबीच सर्ने भाइरस भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो शास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मृगौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

लक्षण के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ
कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छ :
नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

प्रतिक्रिया दिनुहोस्