प्रथम इण्डो नेपाल–भारत तेक्वान्दो च्याम्पियनसिपमा घरेलु टिमकाे कब्जा



वीरगन्ज : वीरगन्जमा बिहिबार सम्पन्न प्रथम इण्डो नेपाल–भारत तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा आयोजक टिम पर्सा तेक्वान्दो संघ प्रथम भएको छ । आयोजक पर्साले  ४ स्वर्णपदक, २ रजतपदक र १ कास्यपदक हासिल गर्दै प्रथम भएको हो । 

 

प्रतियोगितामा दोस्रो भारत बिहार भएको छ । भारत बिहारले ३ स्वर्णपदक, २ रजत र २ कास्यपदक हासिल गरेको छ । त्यसैगरी तेस्रोमा एपिएफ भएको छ । एपिएफले २ स्वर्णपदक, २ रजतपदक र २ कास्यपदक हासिल गरेर तेस्रो स्थापन हासिल गरेको थियो ।

 

 प्रतियोगितामा पुरुषतर्फ बेस्ट खेलाडी भारत बिहारका विपुल कुमार घोषित भए भने महिलातर्फको बेस्ट खेलाडी नाजिया हसन सिद्धिकी घोषित भइन् । बेस्ट खेलाडीलाई आयोजक टिमले २१ इन्चको एलइडी र प्रमाण पत्रसहित सम्मान गर्‍यो ।

 

 कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो टिमलाई क्रमशः २५, १५, र १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ । खेलमा तौलअनुसार विजय भएका महिला र पुरुष तर्फमा प्रथम, दोस्रो र तेस्रो खेलाडीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

 

 प्रतियोगितामा भारतका ८ टिम, नेपालका ७ वटै प्रदेश, नेपाली सेना, एपएफ पुलिस र आयोजक टिम गरी १९ वटा टिमका खेलाडीहरुको सहभागिता रहेको थियो । 

 

समापन कार्यक्रममा बोल्दै वीरगन्जका मेयर विजय सरावगीले भने, ‘वीरगन्जलाई आर्थिक राजधानीको रुपमा चिनिने गरेको थियो तर पहिलो पटक आयोजित ईण्डो नेपाल–भारत तेक्वान्दो खेलले गर्दा थप चिनाउन मद्यत गर्‍यो ।’ 

 

उनले खेलको माध्यमबाट नै खेलाडीमात्र नभइ प्रदेश र देशकै पहिचान अगाडी बढाउन सक्ने भएकोले आउने दिनमाअन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान बनाउन सबैसँग अपिल गरे । भविष्यमा पुनः वीरगन्जमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको हुने खेलमा महानगरपालिकाले यसको लागि छुट्टै बजेट नै तयार गरी सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए । 

 

पर्सा तेक्वान्दो संघले आयोजना गरेको खेलमा संघका पूर्व केन्द्रिय सदस्य शिवशंकर पटेल, पूर्व सासद अनिल रुगंटा, संघका जिल्ला अध्यक्ष गणेशमान श्रेष्ठ, उपाध्यक्ष विरेन्द्र बहादुर क्षेत्री कुर्मी लगायतले खेलप्रति तीन तहकै निकायले देखाएको उदासिनताबारे उजागर गर्दै खेल र खेलाडीलाई उत्प्रेरित गर्न आवश्यक सहयोग गर्न अपिल समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्