माधुरीका हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन



वीरगन्ज : वीरगन्ज निवासी माधुरी वर्णवालका हत्यारालाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गरिएको छ । वर्णवाल सेवा समिति तथा वर्णवाल युवा संघको आयोजनामा प्रदर्शन गरिएको हो ।

हत्यारालाई कानुनी कारबाही, माधुरीलाई न्याय, महिला हिंसा बन्द हुनुपर्ने लगायत अंकित प्लेकार्ड सहित घण्टाघर चोकबाट निस्केको ¥यालीले नगर परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीले जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई बुझाइएको ज्ञापनपत्रमा नेपालगन्ज जिल्ला प्रहरी कार्यालयले दोषी उम्काउन मुद्दा कमजोर बनाउने प्रयास गरेको आरोप लगाइएको छ ।

माधुरीको हत्यामा उनका श्रीमान् मनिष वर्णवाल, ससुरा गोपिचन्द्र वर्णवाल र सासू राजकुमारी देवीको हात भएको आरोप लगाइएको छ । उनीहरुलाई प्रहरीले पक्राउ नगरी उल्टै उम्काउन खोजेको ज्ञापनपत्रमा उल्लेख छ ।

 

तीनैजनाविरुद्ध गत आइतबार प्रहरी कार्यालयमा किटानी जाहेरी दिँदा पनि नेपालगन्ज प्रहरीले हालसम्म दोषीलाई पक्राउ नगरी उल्टै मुद्दा फितलो बनाउने काम गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

 

अनुसन्धानमा पहल गरी र मुद्दामा विपक्षी बनाइएकालाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको माधुरीका पिता वेदप्रकाश वर्णवालले बताए । मागसहितको ज्ञापनपत्र राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकार र महान्यायाधिवक्ताको कार्यालयमा बोधार्थसमेत गरिएको छ । 

गत १८ गते दाइजोको निहुँमा माधुरीलाई शारीरिक यातना दिँदै हत्या गरी घरको सिलिङ्ग पंशामा झुन्डयाई प्रायोजित तरिकाले घटना बनाएको उनका पिताको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्