नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन यस्तो छ चलखेल



काठमाडौं : पटक–पटक प्रयास हुँदै आएको नेपाल प्रहरीमा ३० वर्षेसेवा हद हटाउनका अहिले फेरी चलखेल शुरु भएको छ । ३० वर्षे सेवा सेवाहदका कारण कतिपय अधिकारीहरु अवकाश हुने मुखैमा उमेरहद हटाउनका लागि दौडधूप तीव्र पारेका छन् ।

यदि उमेरहदको प्रावधान हटाउँदै नयाँ नियमावली आएमा आगामी २८ गतेदेखि अवकाश पाउँदै गरेका सर्वेन्द्र खनाललगायत उनका व्याजी एआईजी र डिआईजीहरुको पनि केही अवधि थप हु्ने देखिन्छ । यसरी अवकाश उन्मुखैमा यसअघि पनि पटक –पटक यस्तो प्रयास हुँदै आएको थियो ।

प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ को मस्यौदा गरी अगाडी बढाईएको श्रोतको दाबी छ । विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटेमा हालका महानिरीक्षक (आईजी) खनालको कार्यकाल १४ महिना थपिनेछ । खनाल २०७४ चैत्र २९ मा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए ।

त्यस्तै प्रहरी महानिरीक्षक (आईजी) को उमेरहद ५८ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५७ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) देखि तलको सबै दर्जामा ५५ बर्ष उमेरहद रहने प्रस्ताव गरिएको छ ।

त्यसो भएमा खनालको ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको कार्यकाल केही समय लम्बिनेछ ।

प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ लागू भएपछि प्रहरी कर्मचारीले पदावधि र उमेरहदको आधारमा मात्रै सेवानिबृत हुने व्यवस्था । प्रस्तावित ऐनमा प्रहरी महानिरीक्षक (आईजी) को पदावधि ३ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ४ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५ बर्ष, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) को पदावधि १० बर्ष रहने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्