श्रीभावर हत्या काण्ड : बुहारीको बयानका आधारमा मृतकका ज्वाइँ पक्राउ 



कैलाली : बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या घटनामा प्रहरीले उनकै ज्वाइँ  वीरबहादुर बोहरालाई पक्राउ गरेको छ ।

मृतक बोहराकी लक्ष्मीले दिएको बयानका आधारमा बझाङको बित्थडचिर गाउँपालिका–१ घर भएका मृतकका ज्वाइँ नाता पर्ने वीरबहादुर बोहरालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए । 

ठेक्कापट्टा गर्ने बोहरालाई पुष १४ गते कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको उनले बताए । उनी पुष ८ गते राति घटना घटाएर दोस्रो दिन ९ गते बिहान महेन्द्रनगर पुगेको हुनसक्ने बोगटीले बताए ।  

घटना स्थलमा बलियो प्रमाणको रुपमा एउटा घडी मात्रै भेटिएको भए पनि घाइते बुहारीको बयानका आधारमा बोहरालाई पक्राउ गरेको र हत्यारा केही दिनमा सार्वजनिक गर्ने प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । 

स्थानीयका अनुसार पक्राउ परेका बोहरा मृतक जसुका आफ्नै छोरीज्वाइँ  पर्छन् । उनले डेढ बर्ष अगाडी मात्रै बहुबिवाह गरी मृतककी छोरी मिना बोहरासँग भागी विवाह गरेको स्थानियले बताए ।  

पुष ८ गते राति भएको घटनामा मृतक बोहराकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरा पनि झडपमा परी घाइते भएकी थिइन् । प्रहरीले घाइते लक्ष्मीलाई लामो समयसम्म नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्