ओलीले प्रचण्डलाई तपाई नै गर्नोस् भनेपछि प्रचण्डको यस्तो तयारी



काठमाडौं : आज आइतबार बिहान करिब दुई घण्टा लामो वार्ता गरेका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच अपरान्ह ४ बजे पार्टी सचिवालय बैठक बसाउने सहमति बनेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच संसदमा देखिएको गतिरोध हटाउन र नेकपाका तर्फबाट अघि सार्ने सभामुख पदका उम्मेदवारको विषयमा भोलीसम्म टुङ्गो लगाउने पनि सहमति भएको बताईन्छ ।

आजको छलफलमा विभिन्न कोण र दृष्टिका साथ छलफल भएपनि पात्रको नाम टुङ्गाउने विषयमा अहिलेसम्म अध्यक्षद्वयबीच सहमति बनिनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

अध्यक्षद्वयको वार्तापछि बालुवाटारबाट बाहिरिएका अध्यक्ष प्रचण्डले यसबीचमा नेकपाका नेताहरुसँग छलफल गरेका छन् । प्रचण्डले अपरान्ह ४ बजे बस्ने सचिवालय बैठकमा पार्टी नेता अग्नि सापकोटाको नाम सभामुखको उम्मेदवारको रुपमा पेश गर्ने गरी तयारी गरेका छन् ।

अध्यक्ष प्रचण्डले यस विषयमा पार्टीका बरिष्ठ नेता झलनाथ खनालदेखि सचिवालय सदस्यहरु माधव नेपाल,बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुसँग सचिवालय बैठकमा आफूले सापकोटाको नाम सभामुखको उम्मेदवारको रुपमा पेश गर्ने जानकारी गराएको उच्च श्रोतको दाबी छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सभामुख चयनका विषयमा पार्टीले आवश्यक निर्णय लिन नसके आफूले संसदीय दलबाट निर्णय गराउने भन्दै पार्टी संचालनको जिम्मेवारी पाएका अर्का अध्यक्ष प्रचण्डलाई भनेपछि दबाबमा परेका प्रचण्डले त्यस्तो तयारी गरेको बताईन्छ ।

नेकपाभित्र सभामुखका लागि संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ नेताहरु अग्नि सापकोटा, पम्फा भुषाल र उपसभामुख शिवमाया तुम्बाहाम्फे आकांक्षीका रुपमा देखिदै आएका छन् । त्यस्तै पछिल्लो समयमा नेताहरु जनार्दन शर्मा, तोपबहादुर रायमाझी र हरिबोल गजुरेलको नाम पनि चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्