अन्नपूर्ण पदमार्गमा बेपत्ता आफ्ना नागरिकको जानकारी लिन कोरियाली राजदूत पोखरामा



कास्की : अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूबारे जानकारी लिन नेपालस्थित दक्षिण कोरियाली राजदूतसहितको टोली पोखरा पुगेको अधिकारीहरूले बताएका छन्।

त्यस क्षेत्रमा गएको हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन्।

उनीहरूलाई हिमपहिरोले पुरेको आशङ्का गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

केसीका अनुसार काठमाण्डूस्थित कोरियाली राजदूत पार्क योङ्-सिकसहितको कोरियाली टोली पोखरा पुगेको हो।

उनीहरू आइतवार अन्नपूर्ण क्षेत्रतर्फ जान लागेका थिए। तर त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मीले अवस्था प्रतिकूल रहेको जनाएपछि आइतवार उनीहरू पोखरामै रहेका छन्।

केसीले भने, “राजदूतसहितको टोली घटनास्थलतर्फ जाने कुरा थियो तर आज परिस्थिति अनुकूल नभएकाले उहाँहरू पोखरामै हुनुहुन्छ।”

“भोली सम्भवत: उहाँहरूलाई त्यता पठाउने बन्दोबस्त गरिनेछ।”

खोजी

यसअघि आइतवार विहान हिमपहिरोको मात्रा ठूलो भएकाले अन्नपूर्ण क्षेत्रमा बेपत्ताहरूको खोजीमा कठिनाइ भएको केसीले जानकारी दिएका थिए।

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा साना र ठूला हिमपहिरो जाँदा त्यसक्षेत्रमा पदयात्रा गरिरहेका कैयौँ विदेशी र नेपाली नागरिकहरू फसेका थिए।

हिमपहिरोका कारण बाटोमा फसेका ११० जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बीबीसीलाई बताए।

उनले भने, “तर चार कोरियाली र तीन नेपालीको बारेमा भने खबर पाउन सकिएको छैन।”

“हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ। तर त्यसबारे यकिन हुन सकेको छैन।”

त्यस क्षेत्रको प्रहरी चौकीबाट खटिएका प्रहरी र अन्यले हिमपहिरोमा उनीहरू पुरिएको हुनसक्ने भएकाले खनेर निकाल्नुपर्ने सुझाव दिएको केसीले जानकारी दिए।

स्थल र हवाई उद्धारको प्रयास

“हिमपहिरो ठूलो भएकाले खन्नका लागि पनि समस्या छ। अहिले हामी छलफलकै चरणमा छौँ,” उनले भने।

उद्धारका लागि आइतवार मौसम खुल्ने बित्तिकै एउटा हेलिकप्टर त्यस क्षेत्रमा पठाइसकिएको बताइएको छ।

हराइरहेकाहरूको खोजीका लागि स्थलमार्गबाट पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले पनि १८ देखि २० जना उद्धारकर्मीको टोली उक्त क्षेत्रमा प्रस्थान गरिसकेको बताए।

तर प्रतिकूल मौसम र ठूलो हिमपहिरोका कारण उद्धारमा कठिनाइ भएको उनले जानकारी दिए।

“त्यस क्षेत्रमा होटलहरू बन्द छन् त्यसले गर्दा सातजना व्यक्तिहरूको अवस्था के छ भन्ने भन्न सकिन्न,” उनले भने।

कास्कीका प्रजिअ केसीका अनुसार काठमाण्डूस्थित कोरियाली दूतावासले पनि त्यस क्षेत्रमा एउटा उद्धार टोली पठाउने जानकारी दिएको छ।

उद्धार

त्यस्तै हिमालयन उद्धार सङ्घ नेपालले पनि उद्धारका लागि टोली पठाउन तयार अवस्थामा रहेको जानकारी दिएको उनले बताए।

सङ्घका अध्यक्ष नरेन्द्रदेव भट्टले भने, “आवश्यक परेमा तत्कालै टोली पठाउने गरी तयारी अवस्थामा हामी रहेका छौँ।”

“यसबारे हाम्रो कास्कीका प्रजिअ र गृह मन्त्रालयसँग समन्वय भइरहेको छ।”

मौसम कस्तो होला?

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार भइरहेको छ।

आइतवार देशको पूर्वी, मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

उपत्यका तथा तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको विभागले जनाकारी दिएको छ।

विभागले आगामी केही दिनमा देशभरको मौसम क्रमश: खुल्दै जाने जनाएको छ।

तराईमा भने केही क्षेत्रमा हुस्सु लागेको र घाम नलाग्ने हुँदा चिसो बढ्ने विभागको पूर्वानुमान रहेको छ।

अन्नपूर्ण

उद्धार गरिएकामा को-को?

कास्कीका प्रजिअ केसीका अनुसार ११० जना जतिको उद्धार गरिसकिएको छ।

केही होटल व्यवसायीहरू चाहिँ अन्नपूर्ण क्षेत्रमा नै बसिरहेका छन्।

उनीहरूको पनि आवश्यक पर्‍यो भन्ने बित्तिकै उद्धार गर्न सकिने केसीले जानकारी दिए।

उद्धार गरिएकामध्ये ७३ जना विदेशी र ३७ जना नेपाली रहेका छन्।

उद्धार गरिएका सबैभन्दा बढी विदेशीहरू कोरियाका नागरिक रहेका छन्।

कोरियाका ५१ जना नागरिको उद्धार गरिएको उनले जानकारी दिए।

त्यस्तै उद्धार गरिएकामा चीनका १४ जना, सिङ्गापुरका पाँचजना, अस्ट्रेलियाका दुईजना र एल साल्भाडोरका एक नागरिक रहेका छन्। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्