प्रहरीको मिलेमतोमा भैरहवा नाकामा बढ्यो तस्करी



काठमाडौं : पछिल्लो समय रुपन्देहीमा व्यापक तस्करी बढेको छ । दैनिक सयौं साइकल, मोटरसाइकल र पिकअफ भ्यानमा प्रहरीसँगको मिलेमतोका कपडा, हार्डवेयर, पेन्ट (रंग), तस्करी भइरहेको छ । ‘खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरु सक्रिय भएका छन् । रोक्नेतर्फ कसैको ध्यान गएको छैन । यसले भैरहवा क्षेत्रको व्यवसायी चौपट भएको छ’ भैरहवास्थित बैंकरोडका एक कपडा व्वसायीले भने । सशस्त्र प्रहरीले बेलाबखत कपडा, हार्डवेयर र पेन्ट, मोटरपार्टस् बरामद गर्ने गरे पनि नेपाल प्रहरीको तस्करसँगको मिलेमतोले गर्दा सशस्त्र निरीह जस्तै बनेको छ ।

‘हामीले कयौंपटक प्रहरीको सेटिङ भएर तस्करी गरेर ल्याइँदै गरेका कपडा, हार्डवेयरलगायत अन्य वस्तु बरामद गरेका छौं । तर, प्रहरीसँगको उठबसले गर्दा हाम्रो आँखा छलेर तस्करी हुने गरेको । तस्करी नियन्त्रणमा नेपाल प्रहरी सक्रिए भएन’, सशस्त्र प्रहरीका एक निरीक्षक भन्छन् ।

पछिल्लो तीन महिनामा रुपन्देहीमा दशकयताकै बढी कपडा तस्करी भएको व्यवसायी बताउँछन् । तस्करहरुसँग प्रहरीको मिलेमतोले खुलमखुल्ला तस्करी हुने गरेको हो । जिल्ला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका एसपी हेमकुमार थापाले घुमुवा प्रहरी परिचालन गरेरै तस्करी गराइरहेका छन् । एक पूराना व्यापारी भन्छन्, ‘रुपन्देहीका तत्कालीन एसपी रविराज श्रेष्ठपछिकै अहिले धेरै तस्करी भइरहेको छ ।’

दिनभर साइलक, मोटरसाइकल र स्कूटरमा तथा रातभर मोटरसाइकल र पिकअफ भ्यानमा कपडा, हार्डवेयर र पेन्ट तस्करी गर्नेको सीमा क्षेत्रमा घुइँचो लाग्ने गरेको छ । कपडा तस्करबाट एसपी थापाले मासिक ५ लाखसम्म बुझ्ने गरेका छन् । जिल्लाको मर्चवार, बोधवार, लुम्बिनी, मेमरी र धकधई क्षेत्रबाट ठूलो परिणाममा राजेन्द्र शर्मा, पप्पु भारती, महावीर, छट्टु, ब्रिजेश लगायतले कपडा, हार्डवेयर र पेन्ट तस्करी गर्ने गरेका छन् ।

यो समूहले मर्चवार, रुद्रपुर, धकधई र भैरहवा क्षेत्रमा गोदाम गराएर राखी बुटवल, काठमाडौं, पोखरा कपडा पठाउने गरेको छ । यो समूहले जिल्ला प्रहरीलाई मासिक ३ लाख ५० हजार बुझाउने गरेको प्रहरी स्रोत बताउँछ । भैरहवा क्षेत्रबाट स्कुटरमा बिष्णु थापा, पशुपति, शम्भुलगायतले कपडा तस्करी गर्ने गरेका छन् । यो समूहले प्रहरीलाई मासिक डेढलाख रुपैयाँ बुझाउने गरेको छ । यिनीहरुले तस्करीका कपडा बुटवलमा फेन्सी पसल र गोदामहरुमा विक्री गर्ने गरेका छन् ।

तस्करीसँग पैसा असुल्न एसपी थापाले सिपाही शंकरराज गिरीसहित, वीरेन्द्र रोक्का क्षेत्री, असई हृदय चौहान र सिपाही कृष्ण श्रेष्ठलाई परिचालन गरेका छन् । उनीहरुले नै तस्करहरु राजेन्द्र, पप्पु, व्रिजेश, विष्णु, पशुपति लगायतबाट असुली गर्छन् । यी दुई कपडा, हार्डवेयर पेन्ट तस्करी समूहबाट मात्रै एसपीले मासिक ५ लाख रुपैयाँ बुझ्ने गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी सहायक निरीक्षक बताउँछन् । ‘हामीलाई तस्करी नियन्त्रण गरौं भनेर निर्देशन आउँछ । तर, नियन्त्रण गर्न खोज्यो जिल्लाबाट फोन आउँछ र छाड्नपर्छ । एसपी त के घुमुवा सिपाहीको सामुन्ने हामी निरीह बन्नुपर्छ’, उनले भने, ‘माथिल्लो तहको सेटिङकै कारण हामी नियन्त्रण त के बोल्न नसक्ने अवस्थामा छौं ।’

मर्चवारबाट कपडा, होर्डवेयर तस्करी गर्ने राजेन्द्रहरुको समूहले मर्चवार, बेथरीलगायतका ठाउँमा कपडाको गोदाम नै बनाएका छन् । तस्करी हुने नाकामा एसपी थापाले आफू निकटका प्रहरीहरुलाई इन्चार्ज बनाएर खटाएका छन् । ‘भारतीय बजारमा त्यसै त सस्तोमा पाइने हार्डवेयर लगायतका सामान अझ विना भन्सार नेपाल ल्याएर विक्री गर्दा हाम्रो व्यापार पूरै ठप्प छ भन्दा हुन्छ । तस्करहरुले सस्तोमा बजारमा छ्यापछ्याप्ती सामान उपलब्ध गराउँदा हामी दिनभरी पसलमा कुरेर बस्दासमेत एकजना पनि ग्राहक आउँदैनन्’, २० वर्षदेखि हार्डवेयर व्यवसाय गर्दै आएका भैरहवाका व्यापारी भन्छन् ।

अहिले मर्चवार क्षेत्र र बेलहिया कपडा तस्करीका लागि मुख्य केन्द्र हो । सेमरा, धकधई, लुम्बिनी, मेउिडिहवा हार्डवेयरका लागि । बेलहियाबाट स्कूटर र मर्चवारबाट मोटरसाइकल, साइकल र पिकअफ भ्यानमा कपडा तस्करी हुने गरेको छ । खासगरी बेलहियाबाट कपडा दिनमा तस्करी हुने गरेको छ भने मर्चवारबाट दिनरात नै हुने गरेको छ । दिनभरी गोदाम गरेर राखिएका कपडा लगायतका वस्तु रातभरी बुटवल, चितवन, पोखरा, काठमाडौं लगायतका बजारमा पठाइन्छ । केही मात्रामा कपडा र हार्डवेयर ट्रान्सफर कम्पनीहरुले पनि काठमाडौंसम्म लैजाने गरेका छन् । कतिपय ट्रान्सफर कम्पनीहरुले नक्कली विल बनाएर नै काठमाडौंसम्म कपडा पठाउने गरेका छन् । कपडा र हार्डवेयर तस्करहरुसँग एसपी थापाको सिधा ‘कनेक्सन’ छ ।

यता रुपन्देही प्रहरीले भने तस्करीको विषयमा आफुहरु सजग रहेको बताएको छ । जिल्लाका प्रवक्ता खड्क बहादुर खत्री प्रहरीले तस्करी बढाउने भन्दा पक्रिने कार्यमा तल्लीन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्