आयल निगम प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई पनि कारोबार अनुमति दिइने



काठमाडौं : सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगमलाई प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई समेत त्यस्तो अनुमति दिने चेतावनी दिएको छ । 

निगमको ४९औँ वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) चन्द्रकुमार घिमिरेले निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्वान गर्न सकिनेतर्फ निगम नेतृत्वलाई सचेत गराए ।  

वर्तमान आर्थिक बजारले सहज, सुलभ, किफायती र गुणस्तरीय वस्तुको आवश्यकता बोध गरेको यथार्यलाई स्वीकार गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले दिएको भूमिका निर्वाह गर्न निगम व्यवस्थापन सक्षम हुनुपर्ने बताए ।  

उनले भने, “निगम र नेतृत्वले जिम्मेवारी निर्वाह गर्न नसकेको अवस्थामा सरकारले बिकल्प सोच्नुपर्ने अवस्था आउन सक्छ । त्यो बिकल्प भनेको निगमको बजारलाई खुला गर्दै प्रतिस्पर्धी भित्रयाउनुपर्ने हुनसक्छ ।” यद्यपि, सचिव घिमिरेले सरकार तत्काल यस विषयमा प्रवेश नगरेको स्पष्ट पारे ।  

निगमको सञ्चालक समिति सदस्यसमेत रहेका उनले निगम र यससँग सरोकारभएका निकायले आफूले निर्वाह गर्नुपर्ने भूमिका सहजै सम्पन्न गर्न नसके प्रतिस्पर्धा अपरिहार्य हुने बताए ।

नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सरकारले निगमको अवस्थालाई सुधार गर्न आफूलाई नियुक्त गरेको उल्लेख गर्दै धरासयी अवस्थामा रहेको संस्थाको पुनःसंरचना गरेर अघि बढ्ने बताए । 

यसअघि निगममा देखिएको अनियमिताको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता र विकृति रोक्दै जाने दृढता व्यक्त गर्दै उनले निगमलाई व्यावसायिक सफलता मिल्ने गरी योजना निर्माण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । 

निगमका नायब कार्याकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने अपचलन र मिसावट रोक्न निगमको करारमा सञ्चालित एक हजार नौ सय ट्रक तथा ट्याङ्करमा लकिङ प्रणाली लागू गरिएको बताए । 

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्यालले निगमको संरचनालाई व्यावसायिक बनाउँदै दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्नु पर्ने सुझाव दिए । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले निगमलाई पब्लिक लिमिटेडमा लैजानुपर्नेमा जोड दिए । 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले नेपाली ग्यास उद्योगीले खरिद गरेका ग्यास बुलेट तत्काल सञ्चालनका लागि निगमले पहल गर्नुपर्ने बताए ।  

कार्यक्रममा निगमको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका विजेता कर्मचारीलाई सम्मान गरिएको थियो भने ‘प्रभात’ स्मारिकाको समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्