क्रसर उद्योगलाई अवैधको संज्ञा दिनु सरकारको तानाशाही प्रवृती : अध्यक्ष शेरचन



जनकपुरधाम : क्रसर व्यवसायी महासंघका अध्यक्ष उमेश शेरचनले देशभरी सञ्चालनमा रहेको क्रसर उद्योगलाई अवैधको संज्ञा दिनु सरकारको तानाशाही प्रवृती रहेको आरोप लगाएका छन् ।

क्रसर व्यवसायी संघले आज (आइतबार) जनकपुरधाममा आयोजना गरेको प्रदेश २ स्तरीय क्रसर व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष शेरचनले देशभरीमा ८० अर्बको लगानीमा सञ्चालनमा रहेको सबै क्रसर उद्योगलाई अवैध घोषणा गर्नु सरकारको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘क्रसर व्यवसाय अवैध होईन्, सरकारले अवैध बनाएको हो ।’ कसैले बोर्डरबाट अवैध सुन ल्यायो भने भरियालाई कारवाही गर्ने कि सम्पूर्ण सुनचाँदी व्यवसायीलाई नै कारवाही गर्ने ? उनले प्रश्न गरे ।

उनले सरकारको बजेटमा गिट्टी बालुवाको ठूलो भूमिका रहेको जिकिर समेत गरे । ढल्केबर घटनालाई जोडेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक सार्वजनिक कार्यक्रममा सबै क्रसर उद्योगलाई बन्द गर्नुपर्छ भन्ने दिएको अभिव्यक्ति तर्फ र्इंगित गर्दै उनले भने, ‘देशभरीमा ७ सय क्रसर उद्योगहरु दर्तामा रहेका छन् तर राती सुतेर बिहान उठ्ने बेलामा सबै क्रसर उद्योग अवैध रहेको सुन्दा आश्चर्य लाग्यो ।’

कार्यक्रममा बोल्दै क्रसर व्यवसायी समेत रहेका पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले प्रदेश सरकारको निर्णयबाट अर्बौै रुपैयाँको लगानीमा सञ्चालित व्यवसाय नै संकटमा पर्ने भन्दै त्यसको विरोध गरे । कानुन बमोजिम सरकारबाट इजाजत लिई उद्योग सञ्चालन गरेको तथा सरकारलाई सम्पूर्ण कर तिरिरहेको दाबी गर्दै उनले एउटा घटनालाई नजिर बनाएर प्रदेश सरकार पूर्वाग्रही भएको आरोप लगाए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपानेले सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारलाई राजश्व बुझाएपनि कुनै व्यक्तिले गरेको गल्तीलाई आधार बनाएर सम्पूर्ण क्रसर व्यवसायमाथि आक्षेप लगाउनु असहनिय रहेको बताए । ‘क्रसरको आडमा अपराध गर्नेलाई कारवाही हुनुपर्ने पक्षमा हामी छौं’,उनले भने ।

दिलीप हत्याको घटनामा छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई हामी व्यवसायीको पूर्ण समर्थन छ । तर अन्यत्रका क्रसर उद्योग पूर्ववत सञ्चालन भइरहेका बेला प्रदेश २ सरकारले हामीमाथि पूर्वाग्रही व्यवहार देखाएको उनको आरोप थियो ।

धनुषा महोत्तरी क्रसर व्यवसायी संघका अध्यक्ष हर्क बहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा ट्रक व्यवसायी संघ धनुषाका अध्यक्ष बाबु साहेब झा, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी, उपभोक्ता संघर्ष समितिका संयोजक रोशन सिंह राणा लगायतका वक्ताहरुले समेत आआफ्नो धारणा व्यक्त गरेका थिए ।

यसैबीच आइतबार नै क्रसर व्यवसायीहरुको भेलाबाट प्रलाह्द क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति समेत सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा विनोद साह, सचिवमा अनिल कुमार दास, कोषाध्यक्षमा बेचन शर्मा, सह–सचिवमा प्रदिप सुवेदी, सह–कोषाध्यक्षमा चन्द्रिका साह र सदस्यहरुमा रामनारायण यादव, नवराज अधिकारी, सत्यमोहन मण्डल, लालबाबु साह, अजय तिम्ल्सिनालाई चयन गरिएको छ ।

त्यस्तै सल्लाहकार समितिमा सिताराम न्यौपाने, शम्भुलाल श्रेष्ठ, रामकृष्ण केसी, प्रदिप खडका, महादेव महतो, अजित रायमाझी, कृष्णा यादव र सुरेन्द्र सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्