नेपाली सेनामा भ्रष्टाचार र यौनकाण्डमा मुछिएकाहरुको भागाभाग



काठमाडौं : केही दिन अघि मात्रै नेपाली सेनाका दुई कर्णेल पक्राउ परे । उनीहरु भ्रष्टाचार काण्ड लागेपछि पक्राउ परेका थिए । सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख हुंदा रासन अनियमितता काण्ड लागेर महासेनानी भुपालमान अधिकारी र वार कलेजमा कार्यरत प्रमुख सेनानी देव क्षेत्री पक्राउ परेका थिए । नेपाली सेनाले उनीहरुलाई सहायकरथी प्रदिपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ गठन गरी उनीहरुमाथि अनुसन्धान थालिएको र दोषी देखिएको श्रोतको दाबी छ ।

अहिले अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनीअन्र्तगतको (गणेश दल) मा राखिएको छ भने क्षेत्रीलाई सैनिक मुख्यालयभित्र रहेको एमटीमा राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको सैनिक मुख्यालय श्रोतले बताएको छ ।

नेपाली सेनाभित्र देखिएको विभिन्न वेथितिहरु बाहिर आउने क्रम जारी नै रहेको छ । यो वर्ष नेपाली सेनाका धेरै अधिकृतहरुले नक्कली शैक्षिक प्रमाणपत्र काण्ड र भ्रष्टाचारको काण्ड लागेर जागिरबाट हात धोएका छन् । यस्तै कतिपय सैनिक अधिकृतहरु यौन काण्ड लागेर विदेशस्थित मिशनमा कार्यरत रहेकाहरु पनि समातेर फर्काइनेको ताँती नै लागेको बताईन्छ । आब ०७६-७७ बीच अधिकृत ३, पदिक ४ र अन्य ८ गरी १५ जनामाथि यौन काण्ड लागेको सैनिक मुख्यालयसँग तथ्याङ्क रहेको छ । यसरी नेपाली सेनाभित्र भ्रष्टाचार र यौनकाण्डमा डामिएकाहरु बढ्न थालेपछि मुद्धा लागेकाहरुको भागाभाग नै चलेको बताईन्छ ।

नेपाली सेनाभित्र यौन काण्डले बेलाबेलामा तहल्का मच्चाउने गरेको छ । केही हप्ता अगाडी सैनिक अवासीय महाविद्यालय सल्लाघारी भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरु यतिखेर यौनकाण्ड लागेर निलम्बनमा परेका थिए् । उनले गत १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’ का लागि फोटो खिच्ने क्रममा कक्षा १२ मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेका थिए ।

यही काण्ड लागेर सहसेनानी भूपेन्द्र खड्कालाई पनि सेनाले पक्राउ गरेको थियो । उनले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार एक महिलासँग यौनसम्बन्ध राखेका थिए ।

२०६९ भदौ ३० मा चण्डीप्रसाद गण नागपोखरी ब्यारेकमा कार्यरत खड्का वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत कुचिकार एक महिलासँग काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गर्दा पक्राउ परेका थिए । प्रहरी प्रभाग नागढुंगाले खड्कालाई बसबाटै पक्राउ गरी सैनिक प्रहरी गणमा बुझाएको थियो । अनुसन्धानपछि सैनिक अदालत नियमावलीअनुसार दुवैजना सैनिक भएर पटकपटक अनैतिक शारीरिक सम्पर्क राखेको ठहरिएको थियो । महिला गर्भवती भएकाले गर्भपतन गराउन महेन्द्रनगरतर्फ लैजान लागिएको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको थियो ।

सो विषयमा सर्बोच्च अदालतले बलात्कार भएको पुष्टि गर्दै खड्काको जागिर समेत खोसिने गरी निर्णय गरेको थियो । यस्तै बलात्कार जस्तो जघन्य अपराधको बात लागेर महासेनानी प्रेम थापाको जागिर चट भएको छ । उनले आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेको आरोप छ । त्यस्तै काण्डमा लागेर पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी बर्खास्तीमा परेका छन् । उनले आफू मातहतकी जमदार महिलाको संवेदनशील अंग मुसारेको आरोप लागेको थियो ।

त्यस्तै मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा अनेक थरी कुराकानी गरेका थिए । यसरी कुरा भएको चाल पाएपछि उनकी छोरीले उजुरी दिँदा मुख्यालयले कारबाही स्वरुप पद घटुवा गरेको छ । यसरी पद घटुवा गरेपछि उनले राजीनामा दिएका छन् ।

यस्तै यौनकाण्डकै कारण जमदार उत्सव महराले जागिरबाट मात्रै हात धोएका छैनन् । उनलाई तीन महिना कैद पनि हुने भएको छ । उनी सैनिक अस्पताल छाउनीमा कार्यरत कुमाल थरकी महिला सिपाहीसँँग शारीरिक सम्बन्ध राखेका थिए । जमदार महरासँगै अकाए एक जनाको जागिर गएको छ । उनलाई पनि ३ महिनाको कैद सजाय सुनाएको छ ।

यता सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले एक महिनाअघि राजीनामा दिएका छन् । अझै ३ वर्ष सेवा अवधि बाँकी छँदै राजीनामा दिएका सिंहले यौनकाण्ड लागेकै कारण राजीनामा दिएको सैनिक मुख्यालयमा चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्