प्रिन्स र रशिला उपाधी नजिक



विराटनगर : यु–१५ का शीर्ष बरियताका प्रिन्स दाहाल र रसिला महर्जन राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा उपाधि निकट पुगेका छन् । प्रिन्सले यु–१९ एकलमा रुकेश महर्जनलाई २१–१३ र २१–१७ ले तथा यु–१५ मा हिमाल चन्द माथि २१–६ र २१–२ को जित निकाल्दै दुवै विधाको उपाधि निकट पुगेका हुन् । 

यस्तै रसिला यु–१९ र यु–१५ एकल तथा युगल गरी तीन विधामा उपाधि निकट पुगेकी छिन् । रसिलाले यु–१९ मा रञ्जना भट्टलाई २१–९ र २१–१२ ले पाखा लगाउँदै फाइनलमा यु–१९ की शीर्ष बरियताकी जेशिका गुरुङ सँगको भेट पक्का गरेकी हुन् । 

जेशिकाले सीमा राजवंशीलाई २१–१२ र २१–६ ले पराजित गरेकी हुन् । 

यु–१५ तर्फ पनि रसिला रोज पाण्डेमाथि २१–७ र २१–५ को जित निकाल्दै फाइनल प्रवेश गरिन् । यस्तै यु–१९ युगलतर्फ पनि रसिलाको जोडी फाइनलमा पुगेको छ । सेमिफाईनलमा बिश्ना विष्ट र स्मृति राईको जोडी बाट वाक ओभर प्राप्त गर्दै यो जोडी फाइनल पुगेको हो ।

मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको प्रतियोगिताको यु–१९ ब्वाईज एकल तर्फ प्रफुल महर्जन फाइनलमा पुगेका छन् । अब उनले उपाधिका लागि प्रिन्स दाहालको सामना गर्ने छन् । 

यु–१५ गल्र्स तर्फको खेलमा स्मृति राई फाइनलमा पुगिन् । अव स्मृति उपाधिका लागि रसिलासँग भिड्ने छिन् । ब्वाईजको सोही विधा तर्फ म्यानमारका ज लिन थु नेपालका रोशन साउदलाई हराउँदै फाइनलमा पुगे । उनले उपाधिका लागि प्रिन्स सँग प्रतिस्पर्धा गर्नेछन् । 

यु–१९ गल्र्स युगल तर्फको खेलमा सीमा राजवंशी र निता लम्सालको जोडी फाइनल प्रवेश गरेको छ । अव उनीहरूले उपाधिका लागि जेशिका र रसिलाको जोडी सँग प्रतिस्पर्धा गर्ने छन् । 

ब्वाईजतर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडी फाइनल प्रवेश गर्‍यो । अर्को खेलमा म्यानमारका खेलाडीहरू ज लिन थु र थु रिनको जोडीले नेपालका पविन लिनथेप र दिवस विश्वकर्माको जोडीलाई पराजित गर्‍यो । उपाधिका लागि यिनै जोडी भिड्नेछन् ।

प्रतियोगिताको फाइनल शुक्रबार हुने छ । 

 

प्रतिक्रिया दिनुहोस्