प्रजातान्त्रिक उद्यान निर्माण



हेटौँडा : शहीद स्मारकमा प्रजातान्त्रिक उद्यान निर्माण भएको छ । भूतपूर्व सैनिक सङ्घको सहयोगमा निर्माण भएको प्रजातान्त्रिक उद्यानमा प्रजातान्त्रिक योद्धा बिपी कोइराला, पुष्पलाल, गणेशमान सिंह र मनमोहन अधिकारीको पूर्णकदको शालिक बनेको स्मारक कार्यालय प्रमुख आरसी न्यौपानेले बताए । वाग्मती प्रदेश सरकार र शहीद स्मारक विकास समिति हेटौँडाले माघ १० देखि १६ गतेसम्म मनाउन लागेको शहीद सप्ताहको कार्यक्रममा उद्यान र शहीद स्मारकले २५ वर्ष पूरा गरेको अवसरमा निर्मित ‘रजतजयन्ती स्तम्भ’ अनावरण हुनाका साथै मकवानपुरगढीमा झण्डोत्तोलन र सेतो हात्तीको मूर्ति अनावरण गरिनेछ ।

शहीद स्मारक विकास समितिका अध्यक्षसमेत रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शहीद सप्ताह भव्यरुपमा मनाउने बताए । उनले सप्ताहव्यापी कार्यक्रमलाई पर्यटन वर्षसँग जोडेर लैजानेसमेत बताए । देशी तथा विदेशी पर्यटकको घुइँचो रहने शहीद स्मारक पार्कको २५ वर्षअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए । वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल हेटौँडा नगरपालिकाको नगर प्रमुख रहँदा उनकै पहलमा शहीद स्मारक पार्क निर्माण भएको कार्यालय प्रमुख न्यौपाने बताउछन ।

मुख्यमन्त्री पौडेलका अनुसार शहीदको सम्मान र चिरकालसम्मको स्मरणका लागि स्मारक निर्माण गरिएको हो । “शहीद हाम्रा पथप्रदर्शक हुन हामी जुन धरातलमा छौँ, त्यो शहीदको त्यागका कारण प्राप्त उपलब्धिका कारण हो, त्यसैले राष्ट्रका लागि अतुलनीय योगदान दिने शहीदको योगदानको सम्मानका लागि यो स्मारक निर्माण भएको हो”, स्मारक व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका पौडेलले भने ।

सरस्वती खोलाको ढुङ्गामा कुँदिएको १२ शहीदको मुखाकृति भएको २५ हजार केजीको विशाल शालिक नै मुख्य स्मारक भए पनि हाल चिडियाखाना, बाल उद्यान, मदन भण्डारी स्मृति पार्क, झोलुङ्गे पुल, पौडी पोखरी, शहीद अध्ययन केन्द्रलगायत मनोरम फूलबारी तथा नेपालको विशाल मानचित्रसहितको ६५ मिटर अग्लो शहीद स्मृतिस्तम्भ यहाँको मुख्य आकर्षण रहेको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । स्तम्भको चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नै उद्घाटन गरेका थिए ।

अघिल्लो वर्ष माघ १० गते मकवानपुर गढीमा विजयोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारी आउनुभएको थियो । यस वर्ष पनि विजयोत्सवको तीन दिनपछि मकवानपुरगढीमा कार्यक्रम हुने तय भएको छ । दुई सय ५७ वर्षअघि माघ १० गते गोर्खाली सेनाले बङ्गाली बादशाह मिर कासिमको फौजलाई पराजित गरेको स्मृतिमा प्रत्येक वर्ष माघ १० मा विजयोत्सव मनाउने गरिन्छ । यस वर्ष पनि विजयोत्सवको तीन दिनपछि देशकै ठूलो गढीमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन कार्यक्रम तय भएको जनाइएको छ ।

विसं १७९४ मा मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्र कुमारीसँग विवाह गरेका युवराज पृथ्वीनारायण शाहलाई दाइजोस्वरुप सेतो एकदन्ते हात्ती दिने सहमति थियो । पछि उक्त हात्ती नदिने लगायतको असहमति भएपछि जेठान दिग्बन्धन सेनसँग मनमुटाव भएको र त्यसले उग्ररुप लिँदा दुई राज्यबीच युद्ध भएको इतिहासकार बताउँछन् । पछि १८१९ भदौमा मकवानपुर कब्जा गरेका पृथ्वीनारायण शाहले सेतो हात्ती हात पारेका थिए । उक्त हात्ती मकवानपुरमै मरेको र दरबार नजिकै गाडिएको गढीका खोजकर्ता केदार न्यौपाने बताउछन ।

ल्होछारमा सार्वजनिक बिदा

तामाङ समुदायको सबैभन्दा ठूलो पर्व सोनाम ल्होछारका अवसरमा वाग्मती प्रदेशले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै यहाँका बौद्धमार्गी तामाङ समुदाय उत्साहित भएका छन् । प्रदेश सरकारले ल्होछारका अवसरमा आगामी १० गते सार्वजनिक बिदाको घोषणा गरेको छ ।

यसैबीच ल्होछारका अवसरमा हेटौँडामा ल्होछार महोत्सवसमेत हुने भएको छ । फाग–ल्हो ९बँदेल वर्ग० लाई बिदाइ गरी जिवा–ल्हो (मुसा वर्ग)लाई स्वागत गर्दै मनाउन लागिएको सोनाम ल्होछार २८५६ का अवसरमा यही माघ १० र ११ गते महोत्सव आयोजना गर्न लागिएको हो । प्रदेशका तामाङ जातजातिका गुठी, गुम्बा, तामाङ घेदुङ, ह्याङ्ला तामाङ समाजलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा दोस्रो सोनाम ल्होछार महोत्सव २८५६ आयोजना गर्न लागिएको ल्होछार महोत्सव मूल समारोह समितिका संयोजक आत्माराम मोक्तानले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति ‘खुला सेलो नृत्य प्रतियोगिता’, ‘विभिन्न खेल’, महिला झाँक्रीको विशेष प्रस्तुति, पूजापाठ तथा तामाङ संस्कृति झल्कने विभिन्न प्रस्तुति एवं जातीय परिकार र सामग्रीका व्यापारिक कक्षसमेत रहने प्रचारप्रसार संयोजकसमेत रहहेका पत्रकार दिलबहादुर लामाले जानकारी दिए । महोत्सवका अवसरमा तान्बा बोन्पो, लामा झाँकी, विभिन्न वेषभूषासहितका सहभागीको -यालीले हेटौँडा बजार परिक्रमा गर्ने नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष सुनिल लोप्चनले जानकारी दिए ।

वाग्मती सरकारले ल्होछारका अवसरमा माघ १० गते सार्वजनिक बिदा दिने निर्णयसमेत गरेका कारण महोत्सव भव्य हुने आयोजकले जनाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी तोकिएपछि बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ल्होछारका अवसरमा माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्