पोर्तुगलमा ज्यान गुमाएका दुई नेपालीको शव बुधबार नेपाल ल्याइँदै



काठमाडौं : पोर्तुगलमा ज्यान गुमाएका दुई नेपाली दाजुभाईको पार्थीव शरीर बुधबार नेपाल पठाउन पठाइने भएको छ । उनीहरुको अन्तिम दाह संस्कारका लागि काम गर्ने एजेन्सी (फुनेररिया) कापुसुसमार्फत लगभग सबै प्रकृया पूरा भएको छ । एजेन्सीका अनुसार बुधवार मृतक दाजुभाईको शव नेपाल पठाइने छ । मृतक दाजुभाईको पार्थीव शरीरमा आज (सोमबार) अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

कापुसुस एजेन्सीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेले मृत आत्माको चीर शान्तिको कामना एवम् श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

एक मिनेट मौन धारण गरी शुरु गरिएको कार्यक्रमको सञ्चालन एनआरएनए सचिव यामेन्द्रकुमार घर्तीले गरेका थिए । श्रद्धाञ्जलीमा उपस्थित सयौ नेपालीले मृतक दाजुभाइको पार्थीव शरीरमा खादा र पुष्प गुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गरेका थिए ।

गत पुस २५ गते कास्काइसको ‘बोका दि इन्फेर्नो’ को ढुँगामा माछा मारिरहेको बारा जिल्ला स्थायी घर भएका ४४ वर्षीय कमल वाइबा र उनका ४० वर्षीय भाई सुरज वाइबाको समून्द्री छालले बगाउँदा मृत्यु भएको थियो ।

परिवारसँगको छलफलबाट मृतकद्वयको पार्थीव शरीरलाई नेपालमा पठाउने प्रकृया थालिएको थियो । धादिङ घर भए पनि उनीहरुको परिवार केही समयदेखि सिमरामा वसोवास गर्दै आएका छन् ।

तामाङ दाजुभाई विगत एक वर्षदेखि पोर्तुगलको कास्काइसमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्