निर्वाचन प्रचारप्रसारको समय अवधि आजसम्म, राति १२ बजेदेखि मौन अवधि शुरु



काठमाडौं : यही माघ ९ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय आज (सोमबार) राति १२ बजेबाट सकिँदैछ । निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टाअगाडि अर्थात आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । योसँगै निर्वाचनको प्रचारप्रसार बन्द हुनेछ ।

मौन अवधिमा आफ्ना वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने–‘मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन ।’

मौन अवधिमा आचारसंहिता पूर्ण पालना गर्न गराउन सरोकारवालासँग आयोगले अपिल पनि गरेको छ ।

निर्वाचन आयोगले यही पुस २७ बाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत निर्वाचन आचारसंहिताले तोकेका सबै सरोकारवालाले पालना गर्ने गरी आचारसंहिता लागू गरेको थियो । मतदानका लागि सात वटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्