सुन तस्करलाई उन्मुक्ति, भरियालाई मुद्दा



भैरहवा : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सुन तस्करीका मुख्य योजनाकारलाई छोडेर भरियालाई मुद्दा चलाएको छ ।

रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वर्ष ३५ का कयस महमद शेख, मायादेवी गाउपालिका वडा नम्बर ५ का वर्ष २६ का कमलेश उपाध्याय र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वर्ष ४२ का बलराज गुप्तालाई शसस्त्र प्रहरीले मुद्दा चलाउन नमिल्ने हुँदा जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो । उता रुपन्देही प्रहरीले एउटै मुद्दामा पक्राउ गरी थप अनुसन्धानको लागी ल्याइएका तीन जनामध्ये दुई जनालाई दवावमा छाडिएको बुझिएको छ ।

शसस्त्र प्रहरी बल नम्बर २७ गणको टोलिले यहि पुस २५ गते गल्लामण्डीबाट सुनसहित ३ जनालाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका व्यक्तिहरुलाई थप कारबाहिका लागी जिल्ला प्रहरी कार्यलयमा सोही दिन बुझाएको थियो । प्रहरीले नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ४ बाट संघीय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रमोद कुमार यादवको दवावमा दुई जनालाई छाडिएको बुझिएको छ । सुन तस्करीमा संलग्न रहेकामध्ये कमलेश उपाध्याय सांसद यादवका स्वकिय सचिव हुन् । प्रहरीले सांसदका स्वकीय सचिव र अर्का बलराज गुप्तालाई उन्मुक्ति दिई घर पठाएर कयस महमद शेषलाई भने मुद्दा चलाएको छ ।

सांसद यादवको पीएसहितको टोलीले उक्त सुन भारतको दिल्ली स्थित एउटा व्यावसायीलाई बिक्री गर्ने गरी भैरहवामा ‘डिल’ गरिरहेको बेला शसस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक टेक प्रसाद पौडेलको टोलीले ७ सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो ।

यता प्रहरीले बरामदित सामग्री सुन जस्तै देखिएता पनि उक्त सामग्री सेतो पहेँलो नक्कली धातु भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी खड्क बहादुर खत्रीले एक जनालाई मुद्दा चलाएको र बाँकी दुई जनालाई छाडिएको बताए ।

खत्रिले दुई जनाको संलग्न नरहेका कारण छाडिएको बताए । सुन भनेर खरिद गरी ल्याए पनि उनिहरु सुन खरिद गर्दा भारतबाट ठगिएको हुन सक्ने खत्रिले बताए ।

प्रतिक्रिया दिनुहोस्