कोटेश्वरको जाम हटाउन सरकारले बनायो यस्तो योजना



काठमाडौं : सरकारले कोटेश्वर क्षेत्रको सवारी जाम हटाउनको लागि लेन विस्तारदेखि आकाशे पुल निर्माण गर्ने कार्ययोजना ल्याएको छ । काठमाडौंबाट बाहिर जाने र काठमाडौं भित्र आउने नाकाको रुपमा रहेको कोटेश्वरको जामा कारण त्यहाँबाट यात्रा गर्नेहरुले हैरानी व्यहोर्दै आईरहेका थिए ।

सरकारले यही समस्यालाई मध्यनजर गर्दै विशेष कार्ययोजना लागू गरेको हो । यसपछि कोटेश्वरको जाम हट्ने विश्वास गर्न थालिएको छ । गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकताका साथ समेटिएको छ ।

कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको कार्य योजनाको पहिलो नम्बरमा कोटेश्वर चोकबाट बायाँतिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने योजना समेटिएको छ । यसरी कार्यालयले बनाएको कार्ययोजना सफल भएपछि त्यहाँका सवारी जाम हट्ने भन्दै स्थानीयहरु हर्षित भएका छन् ।

सडक विभागलाई जिम्मेवारी दिईएको उक्त काम आगामी बैशाखभित्र गर्नुपर्नेछ । उक्त कामका लागि काठमाडौं महानगरपालिका, अर्थ मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलले सहयोगी भूमिकामा काम गर्नुपर्ने जिम्मेवारी दिईएको छ ।

यस्तै सरकारले त्यहाँको जाम कम गर्न कोटेश्वर चोकबाट जडीबुटी चोकतिर जाँदा बायाँतर्फबाट सोझै ३२ वडा कार्यालय निस्कने गरी खुलेको सडकको स्तरोन्नति गर्ने भएको छ । उक्त काम पनि असारभित्र सडक विभागले गरिसक्नुपर्ने बताईएको छ ।

काटेश्वरमा देखिएको अत्याधिक जामका कारण हैरानी व्यहोरिरहेकाहरुलाई मध्यनजर गर्दै सवारी जाम हटाउने तेस्रो विकल्पका रुपमा जडीबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई घर हटाउने योजना रहेको छ । उक्त काम चैत्रभित्रै गर्नेगरी सडक विभागलाई जिम्मा दिइएको छ । चौथो योजनाअनुसार जडीबुटी चोकबाट निर्माणधीन मनोहरा पुलसम्म जानका लागि दुवैतर्फ सर्भिस लेन विस्तार गर्ने रहेको छ । उक्त कामको जिम्मेवारी पनि सडक विभागलाई नै दिईएको छ । विभागले असारभित्र उक्त काम गरिसक्नुपर्नेछ ।

यस्तै सरकारले सडक जाम हटाउनको लागि पाँचौं विकल्पका रुपमिा जडीबुटी चोकबाट कोटेश्वरसम्म बायाँतिर सर्भिस लेन विस्तार गर्ने योजना बनाएको छ भने छैंटो विकल्पमा अकासे पुल निर्माण रहेको छ । सरकारले कोटेश्वर चोकको उपयुक्त स्थानमा आकाशे पुल निर्माण गर्ने कार्य योजना अघि सारेको छ ।

सरकारले हालै तय गरेको कार्ययोजनामा काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्य योजना अघि सारेर काम थालेसँगै उपत्यकाका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिने जनाएको छ भने १६ ठाउँमा नयाँ निर्माण गरिने कार्ययोजना बनाएको छ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिने जनाईएको छ ।

कोटेश्वर–जडीबुटीचोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गर्ने कार्ययोजना तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्