मेलमिलाप र वेपत्ता आयोगमा सिफारिस हुँदा हलचल



काठमाडौं : द्वन्द्वकालीन मुद्दा निमटारा लगाउन गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष तथा पदाधिकारी सिफारिस भएपछि संक्रमणकालीन न्यायका क्षेत्रमा हलचल पैदा भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा स्वयंले नै सिफारिस प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाएपछि नयाँ तरंग पैदा भएको हो । मानव अधिकार आयोगका अध्यक्ष शर्माले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिफारिस प्रक्रिया र पात्रका विषयमा प्रश्न उठाएका हुन् । उनले आफू पुस एक गतेदेखि एक हप्ता बाहिर रहेको बताउँदै आफ्नो प्रतिनिधिलाई भागबण्डामा नियुक्ति हुने प्रक्रियामा भाग नलिन निर्देशन दिएको समेत खुलासा गरे ।

शर्माले दुई आयोगको अध्यक्ष सिफारिस गर्न गठित समितिमा आयोगको तर्फबाट प्रतिनिधित्व गरेका आयोगका सदस्य प्रकाशराज वस्तीको आबद्धतासँग जोडेर प्रश्न उठाए ।

पीडित र सरोकारवालाहरूले समेत आयोगमा गरिएको अध्यक्ष तथा सदस्य सिफारिस प्रक्रियादेखि तिनको योग्यतासम्ममा गम्भीर प्रश्न उठाएका छन् । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु राजनीतिक सहमतिका आधारमा सिफारिस भएको भन्दै जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ ।

मानव अधिकारका क्षेत्रमा लामो समयदेखि कार्यरत शोभाकर बुढाथोकिले पनि यस विषयमा आपत्ति जनाएका छन् । बुढाथोकि भन्छन्–‘संक्रमणकालिन न्यायको भविष्य सङ्कटमा । आज नियुक्तिका लागि सिफारिस असक्षम पदाधिकारीहरुले पीडितका लागि न्यायको सुनिश्चितता त टाढाको कुरा भयो, आरोपित पिडकलाई उन्मुक्ति दिने हैसियत पनि राख्दैनन् ।’

त्यस्तै अर्का मानवअधिकारवादी चरन प्रसाईले आयोगको गठन प्रति प्रश्न उठाउँदै भनेका छन्–‘त्रुटिपूर्ण प्रकृयाबाट गठीत आयोगलाई साथ र सहयोग नगरौ। यसको समर्थन नगरौं ।
गलत कार्यको बिरोध गर्न नछोडौ ।’

लामो समयदेखि संक्रमणकालीन न्याय रुमल्लिएकाले यसलाई तत्काल टुंग्याउनु पर्ने आवश्यकता छ । तर गरिएका पात्रका कारण संक्रमणकालीन न्याय टुंगिनेमा धेरैले संशय व्यक्त गरेका छन् ।

‘आयोगको ऐनबारे शून्य जानकारी भएका र यसअघि संक्रमणकालीन न्यायबारे गोरू बेचेको साइनोसमेत नभएकाले द्वन्द्वकालीन मुद्दा निमटारा लगाउँछन् भन्नु सिउँडीको बोटमा सुन्तलाको परिकल्पना गर्नुजस्तै हो,’ आयोगको जिम्मेवारी सम्हालिसकेका एक पूर्वपदाधिकारीले भने ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको सिफारिस समितिको गत शुक्रबार बसेको बैठकले सत्यनिरुपण आयोगको अध्यक्षमा नेपाली कांग्रेसकाबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाकाबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरेको छ ।

त्यसैगरी वेपत्ता आयोगको अध्यक्षमा नेकपाबाट युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी र काँग्रेसकाबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापा सिफारिस भएका छन् ।

नेकपा र कांग्रेसबीच सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेकपाबाट तीन र कांग्रेसबाट दुईजना र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा कांग्रेसबाट तीन र नेकपाबाट दुई पदाधिकारी रहने सहमति अनुसार पदाधिकारी टुंगो लागेको हो ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुको बैठकले संक्रमणकालिन न्याय टुंगो लगाउँन सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी विधेयक ल्याउँने सहमती भइसकेको छ ।

गत शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुबीच यस्तो सहमती भएपछि पदाधिकारीको समेत टुंगो लागेको छ । सहमति जुटाउन शीर्ष नेताहरु बीच विगतमा लामो समय छलफल भएपछि सहमति जुटेको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा विधेयक ल्याउने, पदाधिकारी टुंगो लगाउने लगायतका विषयमा सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्