उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थले गर्ने



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख पदका उम्मेदवारको टुङ्गो लगाएसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने भएकी छन् । प्रतिनिधिसभा बैठक सुरु हुनु अगावै उनले राजीनामा दिने बताईएको छ ।

प्रतिनिधिसभाको बैठक आज (सोमबार) १ बजे बस्दैछ । बैठक अघि नै राजिनामा दिएर सभामुख चयनको लागि मार्गप्रशस्त गर्नको लागि उपसभामुख तुम्बाहम्फेले राजीनामा दिन लागेका हुन् ।

आज बस्ने संसद बैठकको अध्यक्षता जेष्ठ सांसद महन्थ ठाकुरले गर्ने भएका छन् । संसद बैठकको पहिलो एजेण्डा नै सभामुख चयन रहेको छ । सभामुखको निर्वाचन प्रक्रिया समेत आज नै अगाडी बढ्ने छ । नेकपाले सभामुखको उम्मेद्वारमा अग्नी सापकोटालाई चयन गर्ने निर्णय गरिसकेको छ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने तर्क गर्दै उनले राजीनामा नदिने बताएकी थिइन् ।

यसअघि पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्ने भएको हो ।यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा बैठक स्थगित हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्