मिथिलामा ‘लाई’ को मौसम



महोत्तरी : तिलासक्रायत पर्व मनाइएको एक साता हुनै लागे पनि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर थरौटीकी निर्मला चौधरीलाई अझै ‘लाई’ (तिल, चिउरा, मुरी र जुनेलोको भुजा सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डु तराईको विशेष मिष्टान्न परिकार) बटार्ने चटारोले छाडेको छैन । तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्वको ‘सनेस’ (कोसेली) सबै ठाउँमा पठाइनसकिएको हुँदा निर्मलाको ‘लाई’ बटार्ने चटारो अझै रहेको हो ।

जिल्लाका थारु बस्तीमा यतिखेर निर्मला मात्र नभएर सबैजसो गृहिणी ‘लाई’ बटार्न व्यस्त छन् । पर्वको कोसेली नन्द÷आमाजू, छोरी÷भतिजी र दोसमहिम (मित-मितिनी) कहाँ पु¥याउनै पर्ने परम्पराले तराईमा तिलासक्रायत पर्वको ओहोरदोहोर र भेटघाटको क्रम माघभरि नै चल्ने गरेको छ ।

माघेसङ्क्रान्तिको दिन मात्र नभएर मिथिलामा माघभरि नै ‘लाई’को मौसम रहने गरेको छ । घरघरमा माघ १ गते तिलासक्रायत पर्व मनाइएसँगै अहिले पर्वविशेषको विशिष्ट परिकार ‘लाई’ नातेदारका घरमा ‘सनेस’ पु¥याउने परम्परा थेग्न अहिले यी परिकार बनाउन थारुसहितका मैथिल गृहिणी व्यस्त भएका हुन् । बाँसको विभिन्न रङले रङ्ग्याइएको डालामा चिउरा, मुरी र ‘लाई’ अनि माथि नयाँ वस्त्र (पुरुषका लागि धोती र गम्छा तथा महिलाका लागि सारी, साया र चोलोको कपडा), ‘सनेस’ मा पठाइने सामग्री यिनै हुन् । ‘सनेस’ का सामान घरका महिलाले ठिक पारेपछि पु¥याउन भने घरका पुरुष प्रतिनिधि जाने गर्छन् ।

“परब (पर्व) कै दिन सानो छोराले सनेस छोरीकहाँ पु-याएर आयो”, पर्व सकिएको एक साता पुग्नै लाग्दा पनि अझै तिल, चिउरा, जुनेलो र मुरीका ‘लाई’ बनाउन तन्मयसाथ लागि परेकी रामनगर बस्तीकै गृहिणी भुथरी चौधरी थारुले भने, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान बाँकी छ, त्यसैले ‘लाई’ बटारी रहेकी छु ।” तिलासक्रायत पर्व सकिएपछि नाताकुटुम्ब र आफन्तकहाँ ‘सनेस’ लानै पर्ने आम प्रचलनले यहाँका थारुसहितका मूल तराईवासी सबैजसो जाति समुदायका घरमूली महिलालाई ‘लाई’ बटार्न (डल्याउन, लड्डू बनाउन) भ्याइनभ्याई परेको हो ।

मिथिलामा माघभरि घरको खाजामा पनि मुरी, चिउरासँगै ‘लाई’ खाइने गरेकाले यो महिनाभरि घरघरमा यो परिकार बन्ने गरेको हो । पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार हिउँदभरि नै खाजा खाइने परम्पराले पनि अहिले घरघरमा ‘लाई’ बनाउने मुख्य काम बनेको बर्दिवास नगरपालिका–१२ बिजलपुराकी गीतादेवी महतो बताए ।

खासगरी जाडो याममा सक्खर, घिउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले छिप्पिँदो जाडोबीच माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्म तिल, चिउरा, जुनेलो र मुरी मिसाएर बनाइने ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको छ । पर्वविशेषले ‘सनेस’ को नाउँमा आफन्तसँग भेटघाट गराउने भावपक्ष समेटेको मैथिल संस्कृति र परम्पराका ज्ञाता बर्दिवास–२ का पण्डित महेशकुमार झाको भनाइ छ ।

अहिले यस क्षेत्रमा सबैजसो घरमा ‘लाई’ बन्दैछन्, बटारिँदै छन् । ‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा रोजाइको परिकार बनेपछि मिथिलामा हिउँदभरि ‘लाई’को मौसम हुने गरेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृतकुमार महतो बताउनुहुन्छ । माघभरि घरमा आउने अभ्यागत (पाहुना) लाई पनि खाजामा यसै परिकारले स्वागत गरिने गरिएको आम मैथिल बताउँछन् ।

मिथिलामा खासगरी वर्षभरि मनाइने पर्वमध्ये कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ एक गते मनाइने तिलासक्रायत पर्वको ‘सनेस’ आफन्तजनका घरमा पु¥याउने स्थापित परम्परा छ । (रासस)

प्रतिक्रिया दिनुहोस्