उपसभामुख तुम्बाहाम्फेले संसद बैठकबाटै दिइन् राजीनामा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख पदका उम्मेदवारको टुङ्गो लगाएसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन् ।

उपसभामुख तुम्बाहाम्फेले प्रतिनिधि सभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्दै आफूले उपसभामुख पदबाट पछि हट्दै मार्ग प्रशस्त गरेको घोषणा गरेकी हुन ।
बैठक अघि नै राजीनामा दिएर सभामुख चयनको लागि मार्गप्रशस्त गर्ने बताइरहँदा उनले पहिलो चरणको संसद बैठकमा संक्षिप्त मन्तव्य राख्दै आफूले राजिनामा दिने घोषणा गरेकी हुन । उनले उनले अर्को बैठक आजै ४ बजे बस्ने भएको घोषणा पनि गरेकी छन् । उनको राजीनामा पछि आजै ४ बजे अर्को बैठक बस्ने भएको छ । उक्त संसद बैठकको अध्यक्षता जेष्ठ सांसद महन्थ ठाकुरले गर्ने भएका छन् ।

संसद बैठकको पहिलो एजेण्डा नै सभामुख चयन रहेको छ । सभामुखको निर्वाचन प्रक्रिया समेत आज नै अगाडी बढ्ने छ । नेकपाले सभामुखको उम्मेदवारमा अग्नी सापकोटालाई चयन गर्ने निर्णय गरिसकेको छ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधि सभामा थप रिक्तता आउने तर्क गर्दै उनले राजीनामा नदिने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्