छाउपडीको छोइछिटो : समस्या गोठमा होइन, मान्छेमा



बाजुरा : १४ वर्ष भयो जौमा बिक छाउगोठ बस्न थालेको । बुढीनन्दा नगरपालिका–३ की उनी हरेक महिना रजस्वालाको अवधि गोठमै गुजार्थिन् । एक वर्षपहिले अगुवा महिलाले उनको छाउगोठ भत्काइदिए । अहिले उनी महिनावारी भएको बेला ओढारमा बस्ने गर्छिन् ।

यो व्याथा जौमाको मात्र होइन । बाजुराका हरेक घरका महिलाको समस्या हो । छाउगोठ भत्काएपछि यो चलन अन्त्य हुने आशा थियो । तर, समस्या गोठमा होइन, मान्छेको दिमागमा थियो । परिवर्तनको प्रयासभन्दा अन्धविश्वासकै पकड बलियो देखियो । 

त्यसैले उनीहरू रजस्वालाको छोइछिटो बारिरहेका छन् । छाउ बार्ने क्रममै कतिको ज्यान गइसकेको छ । तर यो चलन हट्ने कुनै सुरसार छैन । बाजुरामा रजस्वाला उमेरका ९५ प्रतिशत छाउगोठमा बस्ने महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष रुक्मिणी शाहले बताइन् ।

मंगलबार राति मात्र बुढीनन्दा–९ अंगाउपानीमा छाउगोठमै तीन जनाको मृत्यु भयो । अम्बा बोहोराको ठूलो छोरा सुरेश सँधै हजुरआमासँग सुत्ने गर्थे । सानो छोरा रमित चाहिँ आमासँग सुत्थे । मंगलबार चाहिँ दुवै छोरा खाना खाएपछि आमालाई खाना पुर्‍याउन छाउगोठ गए । अन्धविश्वास यति चर्को छ, ठूला मान्छे महिनावारी भएकालाई आफ्नै हातले खाना दिन पनि अप्ठेरो मान्छन् । आफूलाई खाना लिएर अएका दुई कलिला छोरालाई दुईतिर च्यापेर अम्बा सुतेकी थिइन् । आगो बालेर सुतेका तीनै जनाले निसास्सिएर ज्यान गुमाए । बुधबार उनीहरूको अन्त्येष्टि गरियो । जिल्लामा छाउप्रथा कति डरलाग्दो छ, यही घटनाले देखाउँछ ।

छाउपडी अन्त्यको अभियान चलाएपनि छाउगोठ यथावत छन् । हरेक तीन–चार घरको एउटा गोठ हुन्छ । संयुक्त परिवारको छाउगोठ एउटा मात्र हुने भएकाले घरको तुलनामा गोठको संख्या कम देखिन्छ। तर, अभ्यासमा कमी आएको छैन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्