चलचित्र बोर्डको अध्यक्ष हुन दौडधूप, को बन्ला अध्यक्ष ?



काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष हुनका लागि दिनेश डिसी, केपी पाठक, देशभक्त खनाल, उदय सुब्बा र श्याम सापकोटाले रुचि देखाएका छन् । यसअघिका अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष खोजी भएसँगै चलचित्र क्षेत्रमा सक्रिय नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट चलचित्रकर्मीहरूले लबिङ थालेका छन् ।

बोर्डको अध्यक्ष बन्नका लागि धेरैले भित्रभित्रै लविङ शुरु गरे पनि कसैले मुख खालेका छैनन् । उनीहरु आन्तरिक रुपमा शक्तिकेन्द्रमा धाउने गरेको कुराले नेपाली सिफल्मी बजार तताइरहेको छ ।

यसमध्ये नेकपासँग नजिक रहेका चलचित्रकर्मीको संगठन जनपक्षीय चलचित्रकर्मी संघ नेपालका अध्यक्ष समेत रहेको डिसीको नाम धेरै चर्चामा रहेको छ । उनलाई अध्यक्ष बनाउन नेकपा नेतृत्व सकारात्मक देखिएको श्रोतले बताएको छ । उनले यस विषयमा मुख खोलेका छैनन् । तथापी उनी नै अध्यक्ष हुन्छन् भन्दै बजारमा हल्ला चलिसकेको छ ।

डिसीपछि पाठकलाई बोर्डको अध्यक्षको अर्का दाबेदारका रुपमा हेरिएको छ । उनी निर्देशक समाजका पूर्वअध्यक्ष हुन् । पूर्वमाओवादीनिकट चलचित्र संघका अध्यक्ष समेत रहेका पाठकले पनि अध्यक्ष हुने वा नहुने भन्ने विषयमा बोलेका छैनन् ।

तर, डिसी नै अध्यक्ष हुने चाहना राखेमा पाठक ब्याक हुनुपर्ने अवस्था छ । यससँगै खनाल पनि अध्यक्ष बन्न सक्ने बताइन्छ । पुराना कलाकार खनाल एमालेनिकट चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष हुन् । यसै गरी उदय सुब्बा र बलिदानका निर्माता श्याम सापकोटा पनि अध्यक्षको लागि लाइनमा रहेका छन् । उनीहरु बाहेक चलचित्र क्षेत्रमा कृयाशील रहेका विभिन्न व्यक्तिले अध्यक्ष बन्ने चाहना गरेको चर्चा अहिले फिल्मी नगरीमा चर्चा चल्ने गरेको छ ।

तर नेकपाले भने बोर्डको अध्यक्षका लागि चलचित्र क्षेत्रलाई न्याय गर्न सक्ने बलियो व्यक्तिको खोजी भएको बताइन्छ ।

सरकारले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि गठन गरेको बोर्ड अध्यक्षबाट निकिता पौडेलले राजीनामा दिएपछि केशव भट्टराईले जिम्मेवारी पाएका थिए । भट्टराईको २०७६ मंसिर २९ गते राति निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको हो । तथापि, यसको पूर्तिका लागि तालुकदार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालसम्म कुनै प्रक्रिया अघि बढाएको भने छैन ।

प्रतिक्रिया दिनुहोस्