बार्सिलोनाको अप्रत्यासित हार, लेभान्टेसँग २–१ ले पराजित



एजेन्सी : र्सिलोनाले कोपा डेल रे फुटबलको शुक्रबार बिहान खेलिएको खेलमा अप्रत्यासित हार ब्यहोरेको छ । कोपा डेल रे अन्तर्गत अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी लेभान्टेले घरेलु मैदानको फाइदा उठाउँदै बार्सिलोनालाई २–१ गोलले हरायो ।

बार्सिलोना कोपा डेल रेको साविक विजेता टोली हो । घरेलु मैदानमा खेल सुरु भएको १८ मिनेटभित्रै लेभान्टेले दुवै गोल गरेको थियो । खेलको चौथो मिनेटमै एरिक काबाकोले लेभान्टेका लागि पहिलो गोल गरेका थिए । १८औं मिनेटमा बोर्जा मायोरलले टोलीको अग्रता दोब्बर बनाएका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि बार्सिलोनाका लागि फिलिप कोउटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । बार्सिलोनाका खेलाडीले ६३ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाए पनि थप गोल भने गर्न सकेनन् । प्रतियोगिताको दोस्रो लेग खेल आगामी बिहीबार बार्सिलोनाको घरेलु मैदानमा खेलिने छ ।

बार्सिलोनाले लेभान्टेविरुद्धको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, लुइस स्वारेजलगायतका केही प्रभावशाली खेलाडीलाई मैदानमा उतारेको थिएन । तीन साताअघि खेलिएको घरेलु लिगमा भने बार्सिलोनाले लेभान्टेलाई ५–० गोलले हराएको थियो । 

कोपा डेल रेकै अर्को खेलमा सेभियाले भने जित हात पारेको छ । सेभियाले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा ३–१ गोलले हरायो । सेभियाका लागि नोलिटो, आन्द्रे सिल्भा र विसम बेन एदरले एक÷एक गोल गरे । रियल सोसिडाड भने रियल बेटिसको मैदानमा गोलरहित बराबरीमा रोकियो ।

प्रतिक्रिया दिनुहोस्