कांग्रेस संसदीय दलका नेता पोखरेलको निधन



रुपन्देही : प्रदेश नम्बर पाँचका नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको आज निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको आज (सोमबार) दिउँसो आफ्नै निवास रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढमा निधन भएको हो ।

गएको वर्ष माघमा छातीमा संक्रमण देखिएपछि काठमाडौंस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा फोक्सोको क्यान्सर देखिएको थियो । त्यसपछि विभिन्न असपतालमा उपचार गराएको भए पनि क्यान्सर निको हुन सकेन । बरु क्यान्सरका संक्रमण शरीरका अन्य अङ्गमा पनि फैलिन गयो ।

रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पताल उपचार गराउँदा निको हुने सम्भावना नरहेको चित्किसकले बताएपछि घरमै राखेर उपचार गरिँदै थियो ।

प्रदेश सभाकै ज्येष्ठ सदस्य रहेका स्वर्गीय पोखरेल नेपाली कांग्रेसकोतर्फबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका हुन् ।

१९९४ साल माघ १९ गते प्युठानको तुसारामा जन्मनु भएका पोखरेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीतिक यात्रा थालेका थिए ।

पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पनि परेका थिए । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म बनेका थिए ।

स्वर्गीय पोखरेलका ४ छोरा २ छोरी र श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्